बाँकेमा रास्वपालाई प्रत्यक्षभन्दा समानुपातिकमा बढी मत

नेपालगन्ज : बाँकेमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षभन्दा समानुपातिकमा बढी मत पाएका छ।
निर्वाचन आयोगको समानुपातिक र प्रत्यक्ष निर्वाचनको अन्तिम परिणाम अनुसार रास्वपाले प्रत्यक्षमा भन्दा ९ हजार ४ मत बढी ल्याएको छ । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षमा ८१ हजार २५ मत ल्याएको रास्वपाले समानुपातिकमा भने ९० हजार २९ मत ल्याएको आयोगले वेभसाइट रेकर्डमा उल्लेख छ । रास्वपाबाट बाँके १ मा सुरेशकुमार चौधरी र क्षेत्र नं.३ बाट खगेन्द्र सुनार निर्वाचित भएका छन् ।
जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत आएको छ । सबैभन्दा धेरै बाँके २ मा ५ हजार ६ सय ५९ मत बढी आएको छ । क्षेत्र नं. १ मा १ हजार ५ सय ९० र क्षेत्र नं. ३ मा १ हजार ७ सय ५५ मत बढी आएको छ ।
जिल्लामा कुनै पनि निर्वाचन क्षेत्रमा निर्वाचित वा निकटतम् प्रतिद्वन्द्वी नभए पनि राप्रपाले पनि जिल्लामा ४ हजार ४५ मत समानुपातिकमा बढी ल्याएको छ । ३ वटै निर्वाचन क्षेत्रमा गरी प्रत्यक्षमा ६ हजार ८ सय ६९ मत ल्याएको राप्रपाले समानुपातिकमा भने १० हजार ९ सय १४ मत ल्याएको छ ।
नेकपा (एमाले)ले भने प्रत्यक्षभन्दा समानुपातिकमा ८ हजार २ सय ३६ मत कम ल्याएको छ । एमालेबाट मो.इश्तियाक राई बाँके २ बाट विजयी भएका छन् ।
नेपाली कांग्रेसले पनि बाँकेका तीन वटै निर्वाचन क्षेत्रबाट गरी ६ हजार १ सय ५२ मत समानुपातिकमा कम ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भने क्षेत्र नंं. १ मा १९० मत कम ल्याए पनि अरु दुई क्षेत्रबाट १ हजार ६ सय ६२ मत बढी ल्याएको छ ।