बाँकेमा ५.२६ प्रतिशत मत बदर*

नेपालगन्ज : प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके जिल्लाका ३ वटै क्षेत्रमा गरी सवा ५ प्रतिशत मत बदर भएको छ ।
निर्वाचन आयोगको अन्तिम परिणाम अनुसार जिल्लामा कूल २ लाख २३ हजार ७ सय ३० मत खसेको मध्ये ११ हजार ७ सय ७२ मत बदर भएको हो । जुन कूल खसेको मतको ५.२६ प्रतिशत हो ।
जिल्लामा सबैभन्दा धेरै मत क्षेत्र नं. २ मा ६.३६ प्रतिशत बदर भएको छ । यो निर्वाचन क्षेत्रमा ७३ हजार ५२ मत खसेकोमा ४ हजार ६ सय ४८ मत बदर भएको हो ।
त्यसैगरी बाँके १ मा ४.८५ प्रतिशत मत बदर भएको छ । यो निर्वाचन क्षेत्रमा ७६ हजार ६२ मत खसेकोमा ३ हजार ६ सय ९२ मत बदर भएको हो । त्यसैगरी बाँके ३ मा ४.५९ प्रतिशत मत बदर भएको छ । यो निर्वाचन क्षेत्रमा ७४ हजार ६ सय १६ मत खसेकोमा ३ हजार ४ सय ३२ मत बदर भएको छ ।

निर्वाचन आयोगका अनुसार कोठा बाहिर छाप लगाएमा, दुई वटा चिन्हका बीचमा छाप लगाएमा, स्वस्तिक चिन्हको सट्टा अरुले संकेतबाट मतदान गरेमा, संकेत चिन्ह नबुझिने गरी छाप लगाएमा र मतदान अधिकृतको सही नभएको मतपत्र प्रयोग भएको पाइएमा मत बदर हुन्छ ।* सच्चाइएको