वडाध्यक्ष खरेलले रक्तदान गरेर मनाए जन्मोत्सव

नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेलले रक्तदान गरेर जन्मदिन मनाएका छन् । विगत २० वर्षदेखि हरेक तीन तीन महिनामा निरन्तर रक्तदान गर्दै आएका खरेलको बुधबार ६४औं पटक रक्तदान गरेका हुन् । उनी नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका उपशाखाका सल्लाहकार हुन् । उनी जनमत अद्र्धसाप्ताहिकका त्रैमासिक रक्तदानका स्वयम्सेवी नियमित रक्तदाता पनि हुन् ।
बुधबार नै नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्तीसोनारी गाउँपालिका उपशाखाकी उपाध्यक्ष स्वयम्सेवी नियमित रक्तदाता अमृता केसीले पनि २८औं पटक रक्तदान गरेकी छन् । जनमतको ६८औं श्रृङ्खलाको रक्तदान कार्यक्रम आगामी चैत्र ७ गते शनिवारका दिन आयोजना गरिने जनमत रक्तदान कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार निर्वाचनको लामो विदाका कारण केही सातायता रक्तदान कार्यक्रम आयोजना नभएको हुँदा अहिले ब्लड बैंकमा रगतको अभाव हुन थालेको छ ।