१५ करोडमा नेपालगन्जमा खुल्यो होटल कान्तिपुर प्लाजा
नेपालगन्ज : १५ करोड रुपैयाँको लगानीमा नेपालगन्जमा होटल कान्तिपुर प्लाजा खुलेको छ ।
नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायीद्वय ऋषिराम कँडेल र प्रकाश कँडेलले ६१ वर्षीय बुबा चन्द्रमणि कँडेलबाट उद्घाटन गरी शुक्रबारदेखि धम्बोझीस्थित सुर्खेत रोडमा टु स्टार लेवलको होटल सञ्चालनमा ल्याएका हुन् । २० वर्ष अघि बाग्लुङको बुर्तिवाङ क्षेत्रबाट नेपालगन्ज झरेका चन्द्रमणिले पुष्पलाल चोकमा दुई वर्ष होटल धौलागिरी र त्यसपछि बसपार्क क्षेत्रमा शान्त होटल सञ्चालन गरेका थिए ।
धम्बोझीमा कान्तिपुर इलेक्ट्रोनिक्स (मोबाइल पसल) र सेतु विक चोकमा कान्तिपुुर इलेक्ट्रोनिक्स प्लाजा (मोबाइल र इलेक्ट्रोनिक्स सामान) सञ्चालन गरिरहेका कँडेल दाजुभाइले बुबाको बिँडो धान्दै २० वर्षपछि पुनः होटल व्यवसाय सुरु गरेका हुन् ।
सञ्चालक ऋषिराम कँडेलका अनुसार होटलमा २७ वटा सुविधा सम्पन्न कोठा छन् । जहाँ २ वटा विशेष स्वीट रुम पनि बनाइएको छ । होटलमा ६० जना क्षमताको आधुनिक सभा हल, ५० जना क्षमताको स्तरीय रेष्टुरेन्ट र ३० सिट क्षमताको कफी क्याफे रहेको छ । होटलको प्रवेशद्वारको सटरमा एप्पल स्टोर पनि रहेको छ । ‘हामीले हस्पिटालिटी क्षेत्रमा सम्भावनाको खोजी गरेर एउटै छानामुनी होटल, क्याफे, रेष्टुरेन्ट एण्ड बार, सेमिनार हलको व्यवस्था गरेका छौं’, कँडेल भन्छन्, ‘हामीलेपश्चिम नेपालमै पहिलो पटक एप्पल स्टोरको सेवा पनि सुरु गरेका छौंं ।’








