मेरोखुसी डटकमका गौरवमय ६ वर्ष
नेपालगन्ज : मेरोखुसी डटकम नेपालगन्ज सातौं वर्षमा प्रवेश गरेको छ । सूचना तथा प्रसारण विभागमा २७ पुस २०७६ सालमा अनलाइन दर्ता भए पनि ७ चैत्र २०७६ देखि सञ्चालनमा आएको हो । सञ्चालन भएको मितिलाई अनलाइनले वार्षिकोत्सवका रुपमा मनाउने गरेको छ ।
देशमा कोरोना महामारी सुरु भएसँगै खुसी बाँड्न ः मेरोखुसी भनेर हामीले अनलाइन मिडिया सुरु गरेका थियौं । कोरोना महामारीसँगै आर्थिक मन्दी झेल्दै हामीले संर्घषपूर्ण ६ वर्ष पूरा गरेका छौं । यी वर्ष हाम्रा लागि सिकाइका रुपमा रहे । हामीले सत्यतथ्य र सन्तुलित समाचार मात्र लेख्यौं । छिटो समाचार दिने नाममा अपुरो, अपुष्ट, एकतर्फी, र पूर्वाग्रही समाचारमा हामी सधैं सर्तक भयौं । सत्यतथ्य र सन्तुलित समाचारमा कहिल्यै विचलित भएनौं । हत्या, हिंसाका भन्दा बढी सकारात्मक सोचका समाचारमा हाम्रो जोड रह्यो । घटना मात्र समाचार होइन, खोज अनुसन्धानमा आधारित रहेर निकै समाचार लेख्यौं । हाम्रै समाचार प्रभावबाट समाजमा सुधारका थालनी पनि भए ।
हामीले कोरोनाका बेला महामारी हुँदा कस्तो खानेकुरा खाने, कुन योग गर्ने सिकायौं । जुन निकै उपयोगी भए । आफै पनि जोगिनुपर्ने बेला पनि हामी स्वास्थ्य सुरक्षामा रहेर रिपोर्टिङमा खटिएका थियौं । कोरोना जित्नेका कथा पनि पस्क्यौं । हाम्रा मौलिक परिकार नै रोगप्रतिरोधी रहेछन् । जुन बिर्र्संदै गएका छौं । ती परिकार सन्तुलित पनि छन् । पोषिला पनि । हामीले पोषण, खाद्यविद् र आयुर्वेदिक क्षेत्रका व्यक्तिसँग कुरा गरेर वा उनीहरुका लेख मार्फत समाजलाई सुसूचित गरेका छौं । कोरोना भाइरस प्रतिरोधी खानेकुरा हाम्रै भान्सामा छन् भनेर सिकायौं । यी कुरा परम्परागत मिडियाको सोच भन्दा बाहिरका कुरा थिए । लोककल्याणकारी मिडियाका रुपमा हामी प्रस्तुत भयौं ।
समृद्धि स्टोरी मार्फत हामीले पहिलो दिनमै १० वर्षपछिको नेपालगन्जको परिकल्पना गरेका थियौं । यो ६ वर्षको अवधिमा धेरै कुरा पूरा हुँदै गएका छन् । व्यवस्था परिवर्तन भयो । अवस्था उस्तै छ भन्ने मानक अब हाम्रो खोजीको विषय बन्नेछन् ।
पत्रकारिताको लामो अनुभव छ भनेर नवीनतम् प्रविधिलाई आत्मसात गर्न नसक्दा हामीले पछि परेको अनुभव गरेका छौं । मल्टिमिडियामार्फत धेरै कुरा गर्न सकिने सम्भावना देखेका छौं । अबको मिडिया पढ्नेसँगै हेर्ने र सुन्ने बनाउने हाम्रो प्रयत्न हुनेछ ।
बितेका ६ वर्ष गौैरवपूर्ण भए । हामीले संघर्ष नै संघर्ष भयो । हामी टिक्यौं । धेरै कुरा सिक्यौं । अन्जानमा गल्ती हुँदा सच्चायौं । माफी माग्यौं । सिकेर अघि बढ्यौं । अबको यात्रा हाम्रा लागि सहज बनेको छ ।
सुरुमा हामी अलि महत्वाकांक्षी बनेकै हौं । निर्धारित गरेको रोडम्यापमा त हामी निकै थोरै पाइला मात्र हिँडेका छौं । हाम्रो अर्जुनदृष्टि स्पष्ट छ । अबका दिनमा हामी रफ्तारमा हुनेछौं ।
खुसी ब्यक्तिमै निहीत हुुन्छ । हामी त्यही खुसी जागृत गर्र्न आएका छौं । एकको खुसी अर्कोलाई बाँड्न चाहन्छौं ।
र अन्त्यमा, मेरोखुसी डटकमको सातौं वार्षिकोत्सवको अवसरमा हाम्रा पाठक, दर्शक, विज्ञापनदाता, शुभेच्छुक र सहकर्मी सबैप्रति हार्र्दिक कृतज्ञता अनि हाम्रो टिमलाई बधाइ तथा शुभकामना । आगामी दिनमा अझै बढी रचनात्मक साथ र सहयोगको अपेक्षा गरेका छौं ।

शंकरप्रसाद खनाल
अध्यक्ष/सम्पादक








