ठाकुरबाबा नगरपालिकाले १० वर्षे शिक्षा योजना बनाउँदै

गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाले शिक्षा क्षेत्रको दश वर्षे योजना निर्माण सुरु गरेको छ ।
प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको सहकार्यमा ठाकुरबाबा नगरपालिकाले सोमबारदेखि योजना निर्माणका लागि कार्यशाला सुरु गरेको हो ।
कार्यशालामा विगत ५ वर्षमा ठाकुरबाबा नगरपालिकाभित्र विद्यार्थीको उपस्थितिलगायत शिक्षाको अवस्था, शैक्षिक उपलब्धीका बारेमा छलफल गरिएको छ । तीन दिनसम्म चल्ने कार्यशालामा पहिलो दिन दश वर्षे योजनाको तयारी प्राविधिक विषयगत समिति गठन, योजना तर्जुमासँग सम्बन्धी अवधारणा, स्थानीय परिवेशको आवश्यकता पहिचान गरी तीन वटा प्रस्तुती गरिएको थियो । कार्यशालाको उद्घाटन नगर प्रमुख घननारायण श्रेष्ठले गरेका थिए । उनले नगर क्षेत्रको शिक्षा सुधारका लागि उल्लेख्य लगानी गरेको दाबी गरे ।
कार्यशालामा ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख कृष्णा कुष्मा थारु, नेकपा माओवादीका नगर अध्यक्ष चित्रप्रसाद खनाल, एमाले नगर अध्यक्ष जीवनबहादुर शाही, नेपाली कांग्रेस नगर सभापति पदमबहादुर खड्का, वडा नं १ का वडा अध्यक्ष श्यामलाल थारु, प्लानका शिक्षा विज्ञ वेद डाँगी, नेपाल शिक्षक महासंघ अध्यक्ष वामदेव ढकाल, नेपाल शिक्षक संघका खड्कप्रसाद उपाध्याय, नेपाल राष्टिय शिक्षक संगठन ठाकुरबाबा नगर समिति अध्यक्ष कलमबहादुर शाहीलगायत नगरभित्रका शिक्षासँग सम्बन्धित क्षेत्रहरुका व्यक्तिको उपस्थिति रहेको थियो ।