रगत अभाव भएको बेला प्रेस युनियनद्वारा रक्तदान

नेपालगन्ज : नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।
प्रेस युनियनको ३१औं स्थापना दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए ।

नेपाली कांग्रेस बाँकेका सचिव सुधाशुं कोइराला, भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे लगायत पत्रकार, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, विद्यार्थी, सर्वसाधारण ३१ पुरुष र ७ महिलाले रक्तदान गरेका हुन् । नगर प्रमुख विष्टले नेपालगन्जमा रगतको अभाव भइरहेको अवस्थामा प्रेस युनियनले गरेको रक्तदानले धेरै बिरामीको ज्यान जोगिने बताए । नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्रका अनुसार स्थानीय तहको निर्वाचनका कारण करिब एक महिनासम्म औपचारिक रुपमा रक्तदान कार्यक्रम नभएका कारण रगतको अभाव भएको थियो ।

स्थापना दिवसको अवसरमा प्रेस युनियन बाँकेले शुक्रबार नै नेपालगन्जमा शुभकामना आदान प्रदान कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्री किशोरसिंह राठौरले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

‘कसरी पत्रकारितालाई स्वच्छ बनाउन सकिन्छ, निश्पक्ष बनाउन सकिन्छ, कसरी पत्रकारिता गर्दा गर्दै लोकतन्त्रलाई बलियो बनाउन सकिन्छ,’ उनले भने ‘लोकतन्त्रलाई कसरी बचाउन सकिन्छ, लोकतन्त्रको पक्षमा कसरी वकालत गर्न सकिन्छ भन्ने कुरालाई पनि गम्भिर भएर सोच्नको लागि अनुरोध गर्न चाहन्छु ।’
प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, प्रेस युनियनका केन्द्रय सदस्य जयसिंह केसी, पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताल, टे«ड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र बिकलगायतले शुभकामना दिएका थिए ।