नेपालगन्ज रंगशालामा २ सय रुपैंयामा २ घण्टा स्विमिङ

नेपालगन्ज : नेपालगन्ज रंगशालाको पौडी पोखरी (स्विमिङ पुल) सर्वसाधारणका लागि न्यूनतम् शुल्क तिरेर स्विमिङ गर्न पाउने व्यवस्था गरिएको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रमुख महेश चन्दका अनुसार गत चैतदेखि सन्चालनमा आएको पौडी पोखरीमा दुई सय रुपैंयामा दुई घण्टा स्विमिङ गर्न सकिन्छ । ‘पौडी प्रशिक्षार्थी, स्कुले विद्यार्थी र अन्य सर्वसाधारणले दुई सय रुपैंयामै विभिन्न सिफ्टमा दुई घण्टासम्म स्विमिङ गर्न सक्ने गरी सञ्चालनमा ल्याएका छौ’ प्रमुख चन्दले भने ‘पौडी पारखीहरुको निकै आकर्षण बढेको छ ।’


तीन वर्ष अघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका क्रममा नेपालगन्ज रंगशालामा करिब २० करोडको लागतमा निर्माण गरिएको स्विमिङ पुल कोरोना महामारीका कारण सञ्चालन हुन सकेको थिएन । आठौं खेलकुद प्रतियोगितापछि नेपालगन्जमा कुनै पनि ठूला खेलकुद गतिविधि हुन नसकेका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने मापदण्डमा बनेको पौडी पोखरी प्रयोगविहिन बनेको थियो । पौडीका विशिष्ट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले स्थापना भएको पोखरी चैतदेखि सञ्चालनमा आएपछि पौडी प्रशिक्षार्थी, स्कुले विद्यार्थी र पौडी पारखी सर्वसाधारणलाई समेत राहत भएको छ । पानी नतात्ने उच्च प्रविधियुक्त स्विमिङ पुल भए पनि समितिले न्यूनतम शुल्कमा सबै किसिमका व्यक्तिले प्रयोग गर्ने गरी सञ्चालन गरेको जनाएको छ ।