बालसुधार गृहका बालकलाई स्वामी पूर्णतेजले भने, ‘गल्तीले गल्ती काम भयो, सुधार गृहबाट सुधार हुन्छ’

नेपालगन्ज : स्वामी पूर्णतेजले बालबालिका गल्तीले अपराधिक कार्यमा संलग्न हुने गरेको बताएका छन् ।
द आर्ट अफ लिभिङले बिहीबार बाँकेको जयेन्दु बाल सुधार गृहमा आयोजना गरेको ‘डिभाइन सेसन विथ स्वामीजी’ विषय जीवनोपयोगी शिक्षा कार्याक्रममा द आर्ट अफ लिभिङको भारतको बैंग्लोर आश्रमबाट आएका स्वामी पूर्णतेजले बालकहरुलाई उत्प्रेरणा जगाउँदै यस्तो भनेका हुन् । उनले भने, ‘तिमीले जानेर गरेका होइनौं । गल्तीले गल्ती काम भयो । गल्ती सुधार गर्न सुधार गृहमा आएका छौं । पछुतोले पीडा मात्र दिन्छ । सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ ।’
स्वामीले बालकहरुलाई बाल सुधार गृहमा किन आएको, अहिले कस्तो लागेको छ ? जस्ता प्रश्न गरेका थिए । बालकहरुले आफ्नो कर्मबाट पछुतो भएको बताएका थिए । स्वामीले सोधे, ‘फेरि गल्ती त गर्दैनौं ?’ धेरैको जवाफ आयो, ‘यहाँबाट निस्केपछि फेरि यही आउने काम गर्दैनौं । पढाइ पूरा गर्छौ । बाआमा, समाज र आफ्नो नाम राख्ने काम गर्छौ । अरुका लागि उदाहरणीय बन्छौं ।’
आर्ट अफ लिभिङका योग प्रशिक्षक काव्य लम्साले योग, ध्यान र प्रणायाम सिकाएका थिए । झन्डै २ घण्टा लामो कार्यक्रममा योग, ध्यान र प्रणायामको अनुभव गरेपछि बालकहरु खुुसी थिए । ‘हाम्रो स्वभाव नै प्रेम हो । आनन्द हो । शान्ति हो । यसलाई बचाएर राख्नुपर्छ’, स्वामीले हौसला दिँदै भनेका थिए, ‘योग र ध्यानका माध्यमबाट आफूलाई हे¥यौं भने सच्चाइ मात्र छ । यही भगवान छ । अब राम्रो नराम्रो छुट्टाएर काम गर । तिमीमै तिम्रो, परिवारको, समाजको र देशको भविष्य जोडिएको छ ।’