साउनमा किन लगाउने हरियो चुरा र मेहन्दी ?
सीता वली । खजुरा
‘३० वर्ष अघिसम्म हामी मेहन्दीको पात, तिउरीको पात, कर्कलोको पात टिपेर सिलौटामा लस्लस पिसेर त्यसमाथि चियापत्तिको रस, कागतीको रस, चिनी हालेर सिन्काको सहायताले मेहन्दी लगाउँथ्यौ । कत्ति रमाइलो हुन्थ्यो’, बाँके खजुराकी खुस्बु पाण्डे ती दिन सम्झिन्छिन्, ‘हातमा लगाएको मेहन्दी रातभर राखेर बिहान मात्र पानीले धुन्थ्यौं । अहिले जस्तो रेडिमेट मेहन्दीहरु किन्न पाइँदैनथ्यो ।’ समय फेरियो । प्रविधि फेरियो तर साउन महिना महिलाले उस्तै उत्सवको रुपमा मनाइरहेका छन्, वर्षाै अघि जस्तै । महिलाले साउनमा हरियो चुरा, हातमा मेहन्दी अनि हरिया लुगा लगाउने फेसन जस्तै छ ।
साउन अर्थात हरियो महिना । हरियो प्रकृतिको रङ्ग हो । हरियो रङ्गसँग रमाउने महिनाभन्दा पनि फरक नपर्ला । सबै रङ्गले आफ्नोे विशेषता र मान्यता छन् । नीलो रङ्गले शान्ति प्रदान गर्छ । रातोले उर्जा र उत्साह दिन्छ । सेतोले शितल र हरियोले तनाव मुक्त र आँखालाई पनि आराम दिन्छ । यिनै मान्यता बोकेको रङ्गहरु आफ्नै प्रकारले मानिसहरुले प्रयोग गर्छन् । साउनमा हरियो रङ्गको प्रयोग हुन्छ, चुरा र पहिरनमा । साउने सङक्रान्ति तुलो फाल्ने दिन पनि हो । विश्वभरका हिन्दुले साउने सङक्रान्ति पर्व मनाउँछन् ।
साउन महिनामा हरियो चुरासँगै मेहन्दी पनि लगाउने चलन छ । विवाहमा बेहुली सिँगार्दा मेहन्दी लगाए जस्तै साउनमा नारीले हात भरि मेहन्दी लगाउँछन् । मेहन्दीले एन्टिसेप्टिकको रुपमा पनि काम गर्छ । यसमा प्राकृतिक चिसो क्षमता हुन्छ जसले गर्दा छालाबाट तातो निकाल्ने मद्दत गर्दछ । त्यसैले साउने सङक्रान्तिसँगै लुतो फाल्ने एकैदिन मनाइन्छ । वैज्ञानिक मान्यताका अनुसार हेर्ने हो भने, धान रोपेर खेतीको काम गरेर हिलोले खाएको हात खुट्टामा घाउ खटिरा आएको हुन्छ । मेहन्दीले एन्टिसेप्टिकको रुपमा काम गर्ने भएकाले मेहन्दी लगाउँदा आराम दिने गर्छ ।
नेपालमा विशेष गरि साउन महिनामा मेहन्दी प्रतिको आकर्षण बढ्दो छ । नेपाली महिलाहरुमा सुरुवाती दिनमा आर्थिक रुपमा सम्पन्न र भारतीय प्रभाव परेका परिवारका महिलाहरुले मात्र प्रयोग गर्दै आएको मेहन्दी अहिले भने जुनसुकै आर्थिक हैसियत र संस्कृतिका महिलाहरुको आकर्षण बनेको छ । खासगरी विवाह ब्रतवन्ध, साउन महिना तिजलगायतका पर्वहरुमा अनिवार्य जस्तै प्रयोगमा आएको मेहन्दी भारतीय संस्कृतिको प्रभाव भए पनि ब्यक्तिगत प्रयोजनमा प्रयोग हुने सौन्दर्य प्रशाधन सामग्री गाउँघरतिर पनि यस्को बजारिकरण बढिरहेको छ ।
श्रृगारका रुपमा हेरिएको मेहन्दी हिन्दु र मुस्लिम समुदायले अपनाउँदै आएको संस्कृतिका रुपमा हेरिएको भए पनि फेसनको रुपमा यसको आकर्षण बढ्दो छ । तिउरीको बिरुवालाई कुटेर बनाएको सामग्री साउन १ गते हातमा लगाउने पूरानो चलन हो तर पछिल्ला दिनहरुमा यसलाई विभिन्न डिजाइनमा लगाउन थालेपछि यो एउटा फेसनको रुपमा विकास हुँदै गएको छ । यसरी हेर्ने हो भने समयसँगै साउन मनाउने तरिका पनि परिवर्तन हुँदैछ । पहिला पात टिपेर मेहन्दी सिन्काले लगाउनु पथ्र्यो भने अहिले मेहन्दी लगाइदिने मेहन्दी आर्टिष्ट पनि बढ्दैछन् । मेहन्दी लगाउने चलनमा आधुनिकीकरण भएको छ ।
कोभिडको समयमा सबैजना स्वास्थ्यको ख्याल गर्दै घरमा बसेर सबै चाडपर्व मनाए । कोरोना अलि शान्त भएको बेला राम्रोसँग बाहिर निस्कने बेला देशको अर्थतन्त्र तलमाथि भएको कारण जनतालाई प्रत्यक्ष असर पारेको छ । बैङ्कले ऋण कारोबार बन्द गरे पछि झन अप्ठारोमा परेको नागरिकहरु बताउँछन् । महंगी एकातिर छ भने घितो राख्नेसमेत बन्द भएका कारण एक चुरा मेहेन्दी सिजन अनुसार राख्न पनि गाह्रो भएको बताउछन् । गत वर्ष जस्तो व्यापार नभएको मेहन्दीका व्यापारीहरु बताउँछन् ।
मेहन्दी भारतीय संस्कृितको प्रभाव भए पनि ब्यक्तिगत प्रयोजनमा प्रयोग हुने सौन्दर्य प्रशोधन सामग्री विस्तारैैं नेपालमा बढ्दै आएको मेहन्दी आकर्षणले हाल नेपालको शहरी क्षेत्रमात्र नभइ ग्रामीण भेगहरुमा समेत मेहन्दीको आकर्षण बढिरहेको देखिन्छ । मेहन्दीप्रति महिलाहरुको आकर्षण बढेकाले यसको बजार बिस्तार भइरहेको छ । साउनमा हातमा हरियो चुरा, हरियो लुगा र मेहन्दी लगाउनु महिलाका लागि अनिवार्य जस्तै बनेको छ ।