नेपालगन्ज-डुडुवालाई शैक्षिक हब बनाउने कांग्रेस संकल्प

नेपालगन्ज : नेपाली कांग्रेस बाँकेले क्षेत्र नं. २ लाई शैक्षिक हबको रुपमा विकास गर्ने संकल्प गरेको छ ।
कांग्रेसले सोमबार नेपालगन्जमा निर्वाचन लक्षित संकल्प पत्र विमोचन गर्दै बाँके क्षेत्र नंं २ प्रतिनिधि सभा क्षेत्र नम्बर २ र प्रदेश सभाका सदस्यका उम्मेदवारले निर्वाचन क्षेत्रलाई शैक्षिक हव बनाउने बताएका हुन् । कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणा, प्रदेश सभा–२ (१) का उम्मेदवार राजकुमार वर्मा र प्रदेश सभा–२ (२) का उम्मेदवार सुरेन्द्रबहादुर हमालले नेपालगन्ज उपमहानगरपालिका र डुडवा गाउँपालिका क्षेत्रलाई शैक्षिक हब बनाउने प्रमुख संकल्प रहेको बताए ।
शिक्षाको विकास भएपछि मात्र समग्र रुपमा क्षेत्रकै समृद्धि हुने भएकाले यसलाई प्रमुखताका साथ उठाइएको उम्मेदवारहरुको जोड छ । पश्चिम नेपालका लागि नेपालगन्ज सहर शिक्षाको केन्द्र रहेकोले यस क्षेत्रमा रहेका विद्यालयहरुको स्तरोन्नतीका लागि आफूहरुले प्रमुख एजेण्डा बनाएर लैजाने बताए । सार्वजनिक गरिएको संकल्प पत्रमा नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसलाई स्तरोन्नती गर्न विशेष जोड दिइएको छ । उक्त क्याम्पसललाई नेपालगन्ज विश्व विद्यालयका रुपमा स्तरोन्नती गर्दै डिजिटल प्रणालीमा लैजाने उल्लेख गरिएको छ ।
त्यस्तै मंगल प्रसाद कन्या क्याम्पसका छात्राहरुलाई उपयोगी नवीन विषयमा अध्ययनका लागि प्रोत्साहित गर्ने, यस क्षेत्रका विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन प्रशिक्षण र प्रविधीको प्रयोग गर्ने, प्राविधिक उच्च शिक्षालाई प्राथमिकता दिँदै भेरी प्राविधिक शिक्षालयलाई प्रतिष्ठानको रुपमा विकास गर्ने, डुडुवा गाउँपालिकामा उच्च शिक्षाका लागि क्याम्पस स्थापनादेखि प्राविधिक धारका विषय अध्यापन गर्ने, छात्राहरुका लागि पुस्तक तथा छात्रवृत्तिको व्यवस्था, नैतिक शिक्षाका लागि संस्कृत, उर्दु र अवधी भाषालाई प्रोत्साहन गर्ने संकल्प गरिएको छ । यस्तै, स्वास्थ्य क्षेत्रलाई सुधार गर्न भेरी अस्पताललाई मेडिकल कलेजका रुपमा रुपान्तर गर्ने संकल्प गरिएको छ ।