राष्ट्रिय थारु साहित्य सम्मेलनले भाषिक जागरण ल्याउने दाबी

बाँकेको राप्तीसोनारीमा आयोजना गरिएको ७औं राष्ट्रिय थारु साहित्य सम्मेलन । फोटोहरु सौजन्य : सोम डेमनडौरा/विमला चौधरी

सिधनवा (बाँके) : बाँकेको राप्तीसोनारीमा सम्पन्न ७औं राष्ट्रिय थारु साहित्य सम्मेलनले थारु भाषिक जागरण ल्याउने आयोजकले दाबी गरेको छ ।
थारु लेखक संघ र थारु गोचाली समाज फत्तेपुरले यही २०-२२ माघसम्म तीन दिन आयोजना गरेको सम्मेलन १२ बुँदे घोषणा पत्र जारी गरी आइतबार समापन गर्दै थारु लेखक संघका अध्यक्ष डा. कृष्णराज सर्वहारीले सम्मेलनले थारु भाषिक जागरण ल्याउने दाबी गरेका हुन् ।

कैलालीको पटेलामा आयोजना गरिएको दोस्रो साहित्य सम्मेलनकै कारण त्यहाँका बरघरहरु एक जुट भएर थारु संग्राहलय बनाउन सफल भएको उदाहरण दिँदै उनले भने, ‘रुपन्देहीको सैनामैनामा उद्घाटन नभएको होमस्टेमा चौथो सम्मेलन ग¥यौं त्यहाँको प्रचारप्रसारमा बढी सहयोग पुग्यो, सुर्खेत र बाँकेमा गरिएको सम्मेलनमा थारुको जनजीवनमा कलम चलाउने गैरथारु साहित्यकारहरुलाई सहभागी गरायौं । यसले गैरथारु ठूला सहित्यकारको प्रभाव थारु साहित्यकारमा पर्दै गएको छ यो पनि उपलब्धी हो ।’

दाङ, देउखुरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा थारु सहित्यकारको अवस्था हेरेर लुम्बिनी प्रदेशमा प्रज्ञा प्रतिस्ठान बन्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘केन्द्रको प्रज्ञा प्रतिस्थानमा पनि थारु सदस्यलाई प्राज्ञ बनाउन सकेका छैनौं । यस विषयमा छलफल हुन नसके पनि घोषणा पत्र जारी गर्दा केही धक्का पुगेको छ ।’

थारु भाषाको मानकताको सवालमा विस्तारै भाषाको एकरुपता आउन थालेको अध्यक्ष सर्वाहारीको दाबी छ । एक दशक अघि प्रकाशन भएका थारु भाषाका पुस्तक र पछिल्लो समय प्रकाशन भइरहेका पुस्तकमा भाषा लेखनमा सुधार आइरहेको उनले बताए । देशको जुनसुकै कुनामा थारु साहित्य सम्मेलन गरिए पनि त्यहाँका युवा साहित्यकारलाई सशक्त बनाउनुका साथै भाषिक जागरण ल्याउने काम गरिरहेको अध्यक्ष सर्वहारीले जिकिर गरे ।

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो । राप्तीसोनारीको विकासकालागि प्राथमिकताहरु, आदिवासी भाषा दशक र बाँकेको मातृभाषा, विकासमा वरघर, होमस्टेमा थारु समुदाय, आख्यानमा थारु, बाँकेमा थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा र सिकलसेल एनिमियाको कहर : जनस्वास्थ्यमा प्रतिकूल असरबारे विषयगत सम्बन्धित ब्यक्तित्वहरुलाई प्यानलिस्ट बनाएर घनिभूत छलफल गरिएको थियो ।

बहसमा पत्रकार विमला चौधरी, लेखक शेखर दहित, सञ्चारकर्मी तथा बरघर अभियन्ता एकराज चौधरी, सञ्चारकर्मी तथा साहित्यकार नविन अभिलाषी, साहित्यकार सागर गैरे, लेखिका बालिका चौधरी, सिकलसेल एनिमिया रोकथामका अभियान्ता प्रभुराम चौधरी, युवा साहित्यकार भूमिका थारुलगायतले सहजकर्ताको भूमिका निभाएका थिए । यस्तै सम्मेलनको कि–नोट स्पीकरको रुपमा अनुसन्धानकर्ता डा. गोविन्द आचार्यले, थारु समुदायको इतिहास, संस्कार, संस्कृति, रहनसहनबारे ब्याख्या गरेका थिए ।

कोरोना कहरले यस बर्ष थारु भाषाका नयाँ पुस्तक धेरै नभएपनि लक्ष्मी रानाले लेखेको सोरठ र गणेश वर्तमानले लेखेको ट्वाना उपन्यासको विमोचन गरिएको थियो । सम्मेलनमा कथा संग्रह सोरठ लेखिका लक्ष्मी रानालाई २५ हजार २५ रुपौयाँ नगदसहित सम्मान गरिएको थियो भने थारुको जनजीवनमा कलम चलाउँदै आएकी साहित्यकार किरण आचार्यलाई कदर पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न विद्याका रचना वाचन, सांस्कृतिक प्रस्तुतीलाई पनि स्थान दिइएको थियो । सम्मेलन ब्यवस्थापनको मुख्य भमिकामा थारु गोचाली समाजका अध्यक्ष देखलाल थारु, महासचिव कालुराम थारु (समर्पण), कोषध्यक्ष सुनिता थारुलगायतका सदस्यहरु रहेका थिए ।

सम्मेलनलाई सफल पार्न स्थानीय पालिका, वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समूह, बरघरलगायतले सहयोग तथा सहकार्य गरेका थिए । सम्मेलनमा पूर्व सुनसरी, मोरङ देखि सुदुरपश्चिमको कञ्चनपुर लगायतका जिल्लाबाट झन्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूको सहभागिता थियो ।