अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा, यस्तो छ : ५०० वर्षको इतिहास

नेपालगन्ज : भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ ।
राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार दिउँसो स्थानीय समय अनुसार १२ बजेर २९ मिनेटमा गर्भगृहमा विशेष पूजा गरेर पाँच सय वर्षपछि भगवान रामलाई दिव्य मन्दिरमा प्रवेश गराएका हुन् । जहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, राज्यपाल आनन्दीबेन पटेल, संघ प्रमुख मोहन भागवत पनि गर्भगृहमा उपस्थित थिए ।

सुन र फूलले सजिएको ५१ इन्चको रामललाको मूर्ति छ । शीरमा सुनको मुकुट र घाँटीमा हिरा र मोतीको माला छ । यसबाहेक कानमा झुम्का लगाइएको छ । हातमा सुनको धनुष र बाण छ । श्रीरामको अभिषेक हुनेबित्तिकै वायुसेनाको हेलिकप्टरले मन्दिर परिसरमा पुष्पवृष्टि गरेको थियो ।
नेपालको काली गण्डकीको शालिग्राम अयोध्या लगेर कर्नाटकका मूर्तिकार अरुण योगीराजले मूर्ति बनाएका हुन् । सोमबार मन्दिरमा प्राण प्रतिष्ठा गरिए पनि मंगलबार जनवरी २३ बाट राम मन्दिर सर्वसाधारणका लागि खोलिनेछ ।
राम मन्दिरलाई श्रीराम जन्मभूमि तीर्थस्थल ट्रस्टको मातहतमा सोमपुरा परिवारले नागर शैलीमा निर्माण गरेको हो । सन्् २०२० को अगस्ट ५ मा प्रधानमन्त्री मोदीले नै मन्दिरको शिलान्यास गरेका थिए । झन्डै २२ करोड अमेरिकी डलरको लागतमा बनाइएको मन्दिर ७.२ एकडमा क्षेत्रफलमा फैलिएको छ भने समग्र परिसर भने ७० एकडमा फैलिएको छ ।

राम मन्दिरको इतिहास
अवधमा सरयू भनेर पुकारिने कर्णाली नदीको किनारमा अवस्थित अयोध्या दक्षिण एसियाकै प्राचीनतम सहरमध्ये पर्छ । पवित्र हिन्दू ग्रन्थ रामायण र महाभारतमा त्रेतायुगको समयमा दशरथका छोरा मर्यादापुरुष भगवान रामको जन्म अयोध्यामा भएको उल्लेख छ । उनै रामका छोरा कुशले अयोध्यामा रामको ढुंगाको मन्दिर बनाएको विश्वास गरिन्छ ।
महाजनपदको समयमा अयोध्या सहर दक्षिण एसियाकै ठूलो व्यापारिक केन्द्रका रुपमा विकास भइसकेको थियो । पछि उज्जैनका सम्राट विक्रमादित्यले पुनः अयोध्यामा विशाल मन्दिर बनाएको किंवदन्ती पाइन्छ । विक्रमादित्यपछिका राजा महाराजाहरुले पनि अयोध्यामा राम मन्दिर बनाएको र जीर्णोद्वार गरेको बताइन्छ । पछि गुप्त वंशका राजाहरुले अयोध्यालाई नै आफ्नो राजधानी बनाए ।
विभिन्न कालखण्डमा भारतको भ्रमण गरेका चिनियाँ यात्रीहरु फाहियान र हुएन साङले पनि अयोध्यामा हिन्दू र बौद्ध धर्मका मठ मन्दिरहरु रहेको उल्लेख गरेका छन् । ती मन्दिरहरुमा दैनिक हजारौँ भक्तहरुले पूजाआजा, दर्शन गर्ने गरेको चिनियाँ यात्रीहरुको भनाइ छ ।
विस्तारै भारतमा विदेशी शक्तिको आक्रमण बढेर गयो । खासगरी मध्य एसियाका शासकहरुले सम्पन्न र समृद्ध भारतीय उपमहाद्विपमा आक्रमण गरी यहाँका प्रचीन मन्दिरहरुमा रहेका सम्पत्ति लुटेर लैजान थाले । त्यत्तिबेलाका राजाहरुले मन्दिरमा सम्पत्ति सञचय गरेर राख्थे । विदेशी आक्रमणकारीको नजरमा भारतका काशी, मथुरा, अयोध्या, सोमनाथजस्ता सम्पन्न मन्दिरहरुमा नराम्रो क्षति पुग्यो भने आक्रमणकारीले पूजारी, भक्तजन, दर्शनार्थीहरुको हत्या गर्न लागे । समयसँगै भारतको सत्ता विदेशीकै हातमा गयो ।

  • सन् १२०६ मा कुतबुद्दीनले भारतमा मुसलमान शासन सुरु गरे ।
  • १६ औँ शताब्दीमा मध्य एसियाका तुर्केली–मंगोल मूलका शासक बाबरले भारतमा मुगल शासन व्यवस्थाको सुरुवात गरेका थिए । उनै बाबरका सेनापति मीर बाकीले सन् १५२८ मा राम मन्दिर रहेको स्थानमा मस्जिद बनाएको बताइन्छ । बाबरका सेनापतिले बनाएको मस्जिदलाई नै बाबरी मस्जिद भनेर पुकारिन थालियो । यस घटनाले एकातिर बहुसङ्ख्यक हिन्दूहरु चिढिए भने अयोध्यामा झगडा र कलहको बिऊ पनि यही घटनाले रोप्यो । सबै धर्मप्रति सहनशील मानिने मुगल शासक एवं बाबरका नाति अकबरले भने मस्जिद भएको स्थानमा हिन्दूहरुलाई पनि पूजाआरधना गर्न अनुमति दिएको बताइन्छ । बाबरको शासनकालमा केही शान्त जस्तो देखिएको अयोध्या विवाद समय समयमा बढ्दै जान थाल्यो । मुगल शासक एवम अकबरका पनाति औरंगजेब भने अरु धर्मका मानिसहरुप्रति असहिष्णु थिए । औरंगजेबको समयमा अयोध्याका हिन्दू मन्दिरहरु ध्वस्त पारिए । यसले हिन्दू समुदायलाई थप चिढ्यायो । त्यसबेला हिन्दूहरुले रामको पूजा गर्नका लागि बाबरी मस्जिद परिसरमा एउटा चौताराजस्तो स्थान बनाएका थिए । हिन्दूहरुको पूजाअर्चनाका लागि त्यही स्थान तोकिएको थियो ।
  • सन् १८५३ मा बाबरी मस्जिदलाई पुनः प्राप्त गर्न भन्दै अयोध्यामा हिंसा भड्कियो । त्यसबेला भड्किएको हिंसामा हस्तक्षेप गर्दै बेलायती शासकले मुसलमानहरुलाई मस्जिदमा नमाज पढ्न र हिन्दूहरुलाई चौतारोमा रामको पूजा गर्ने अनुमति दिए ।
  • सन् १८८५ मा आएर महन्थ रघुवीर दासले त्यस चौतारोमा छानो हाल्न पाउँ भन्दै फैजावाद जिल्ला अदालतमा मुद्दा हाले । उनको मुद्दा खारेज गरियो ।
  • सन् १८५९ मा बेलायती अधिकारीहरुले अयोध्यामा हिन्दू र मुसलमानका लागि बेग्लाबेग्लै प्राथनास्थल बनाउनका लागि पर्खाल ठड्याए । बेलायती व्यवस्थाअनुसार मुसलमानलाई मस्जिदभित्र र हिन्दूहरुलाई मस्जिदबाहिर आ–आफ्नो धार्मिक गतिविधि गर्ने व्यवस्था गरिएको थियो । लामो समयसम्म भारतमा बेलायती शासन चलिनै रहेको थियो । भारतले बेलायती शासनबाट स्वतन्त्रता प्राप्त गरेको दुई वर्षपछि
  • सन् १९४९ मा अयोध्याको मस्जिदमा एकाएक रामको प्रतिमा प्रकट भयो । यसले पुनः साम्प्रदायिक तनावलाई बढाएर लग्यो । सो घटनापछि भारत सरकारले मस्जिद परिसर नै आफ्नो स्वामित्वमा लियो । हिन्दू र मुसलमान गरी दुबै पक्षले अदालतमा मुद्दा दायर गरे ।
  • सन् १९५९ मा आफूलाई राम जन्मभूमि क्षेत्रको संरक्षक भन्दै निर्मोही अखडाले यसमा आफ्नो पनि स्वामित्व हुनुपर्ने दाबी गयो भने पछि उत्तर प्रदेश सुन्नी वक्फ बोर्डले पनि उक्त संरचनाको स्वामित्व आफूले पाउनुपर्ने माग गर्दै मुद्दा दायर गयो ।
  • सन् १९८४ मा विश्व हिन्दू परिषदको नेतृत्वमा राम जन्मभूमिलाई मुक्त गर्ने र मन्दिर बनाउने भन्दै राम जन्मभूमि मुक्ति समितिको गठन भयो । त्यसबेला गोरखनाथ मठका महन्थ अवैद्यनाथले अयोध्यामा राम मन्दिर बनाउनेलाई मात्रै मत दिन आफ्ना समर्थकलाई आह्वान गरे । त्यसबेला भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीले राम मन्दिर निर्माण अभियानको नेतृत्व लिएका थिए ।
  • सन् १९८६ मा जिल्ला मजिस्ट्रेटले अयोध्यामा रहेको संरचनामा लगाइएको ताला खोल्न आदेश दियो । त्यसैबेला मुसलमान पक्षले यसको विरोध गर्दै बाबरी मस्जिद संघर्ष समितिको गठन गरे ।
  • सन् १९८९ मा विश्व हिन्दू परिषदले राम मन्दिरको शिलान्याश गयो । परिषदका नेता देवकीनन्दन अग्रवालले मस्जिद रहेको केही दूरीमा नै मन्दिरको शिलान्याश गरेका थिए ।
  • सन् १९९० मा विश्व हिन्दू परिषद्ले राम मन्दिर निर्माणका लागि व्यापक अभियान सुरु गरे । राम मन्दिर निर्माण अभियानका लागि त्यसबेला भाजपा नेता आडवाणीले गुजरातको सोमनाथदेखि उत्तर प्रदेशको अयोध्यासम्म रथयात्रा निकालेका थिए । तत्कालीन मुख्यमन्त्री लालु यादवको निर्देशनमा बिहारमा यही रथयात्राका क्रममा आडवाणीलाई पक्राउ गरियो । फलस्वरुप भाजपाले तत्कालीन प्रधानमन्त्री वीपी सिंहलाई दिएको समर्थन फिर्ता लियो ।
  • सन् १९९२ डिसेम्बर ६ मा अयोध्यामा साम्प्रदायिक दंगा भड्कियो । राम मन्दिरको निर्माण हुनुपर्ने माग राख्दै हिन्दूहरुको समूहले बाबरी मस्जिदलाई भत्काइदिए । अयोध्याबाट सुरु भएको दंगा विस्तारै भारतका अन्य स्थानहरुमा पनि फैलियो । यस दंगामा परी २ हजार जनाको ज्यान गयो । यस घटनाबारे थप अध्ययन गर्न बाबरी मस्जिद भत्काइएको १० दिनपछि न्यायाशीध मनमोहन सिंह लिब्रहानको नेतृत्वमा जाँचबुझ आयोग गठन गरियो ।
  • सन् १९९४ मा इलाहावाद उच्च अदालतमा बाबरी मस्जिदको मुद्दा सुरु भयो । सन् १९९७ मा गएर मस्जिद भत्काएको घटनाको सुनुवाइ गर्न गठित विशेष अदालतले भाजपाका केही वरिष्ठ नेतासहित ४९ जनालाई दोषी ठहर गयो ।
  • सन् २००२ मा भारतीय सर्वोच्च अदालतले बाबरी मस्जिद मुद्दामा यथास्थितीलाई कायमै राख्ने आदेश दियो । सर्वोच्च अदालतले सरकारले अधिग्रहण गरेको कुनै पनि जग्गामा शिलाको पूजा गर्ने अनुमति दिन नसकिने फैसला सुनायो ।
  • सन् २००२ को अप्रिलमा अयोध्यामा बनेको संरचनाको स्वामित्वको अधिकारबारे उच्च अदालतका तीन न्यायधीशको इजलासले सुनुवाइ थाल्यो ।
  • सन् २००३ मा उच्च अदालतको आदेशअनुसार पुरातत्व विभागले विवादित स्थलमा उत्खननको काम सुरु र्गयो । पुरातत्वविदहरुले मस्जिदको संरचना मुनि मन्दिरसँग मिल्दोजुल्दो अर्को संरचना रहेको निष्कर्ष निकाले ।
  • सन् २०१० मा इलाहावाद उच्च अदालतको लखनउ इजलासले ऐतिहासिक फैसला सुनाउँदै अयोध्याको जग्गाको स्वामित्व तीन वटै पक्षलाई दिइनुपर्ने आदेश जारी गयो । यसअनुसार अयोध्याको जग्गाको एक भाग राम मन्दिर, अर्को भाग सुन्नी वक्फ बोर्ड र तेस्रो भाग निर्मोही अखडाको स्वामित्वमा जाने भयो ।
  • सन् २०११ मा सर्वोच्च अदालतले उच्च अदालतको फैसलामा रोक लगाइदियो ।
  • सन्२०१७ मा सर्वोच्च अदालतले अयोध्या विवादलाई सहमतिमै टुङ्ग्याउनुपर्ने तर्क पेश गयो ।
  • सन् २०१९ मा अयोध्या विवादबारे छलफल गर्न वार्ता समिति गठन गरिए पनि वार्ता सफल हुन सकेन ।
  • सन् २०१९ को अगस्ट महिनामा अयोध्या विवादबारे सर्वोच्च अदालतले दैनिक सुनुवाइ थाल्यो ।
  • अक्टोबर १६, २०१९ मा सर्वोच्च अदालते आफ्नो सुनुवाइ सम्पन्न गयो ।
  • नोभेम्बर ९, २०१९ मा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गर्दै अयोध्यामा हिन्दू मन्दिर बनाउनका लागि ट्रस्टलाई जग्गा हस्तान्तरण गरिनुपर्ने र मुसलमान पक्षलाई पनि अयोध्यामा बेग्लै जग्गा दिइने आदेश दियो ।
  • सन् २०२० को फेब्रुअरी महिनामा राम मन्दिरको स्थापना र व्यवस्थापनका लागि १५ सदस्यीय श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट गठन गरियो ।
  • सन् २०२० को अगस्ट महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको शिलान्याश गरे ।
  • सन् २०२४ को जनवरी २२ मा मोदीले नै मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न गरे । (भारतीय मिडियाको सहयोगमा)