नेपालगन्ज उद्योग वाणिज्य संघको प्रादेशिक महोत्सव पुस ४ देखि

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी पुसको पहिलो साता प्रादेशिक महोत्सव आयोजना गर्ने भएको छ ।
संघले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष टंकबहादुर धामीले पुस ४ गतेदेखि १६ गतेसम्म प्रादेशिक महोत्सव २०८१ गरिने जानकारी दिए ।
नेपाल लगायत अन्तराष्ट्रिय (छिमेकी राष्ट्रहरु) औद्योगिक एव व्यापारिक प्रतिष्ठानहरुका साथै सरकारी तथा गैह् सरकारी संघ संस्थाहरुको गरी ३०० बढी स्टल रहने अध्यक्ष धामीले प्रष्ट पारे । तीन लाख भन्दा बढीले महोत्सव अवलोकलन गर्ने संघको अनुमान छ ।

यस्तो छ विज्ञप्ती

पश्चिम नेपालमा आर्थिक क्षेत्रको उत्थान, विकास, विस्तार र संरक्षण गर्ने उद्देश्य बाँकेमा वि.सं. २०२४ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघ स्थापना भएको सर्वविदितै छ । पाँच दशक लामो अनुभव बोकेको संघ नेपालका ‘क’ वर्गका उद्योग वाणिज्य संघमध्ये उत्कृष्ट १० मा पर्छ भनेर सुनाउन पाउँदा पनि हामीलाई सधैं गर्वको महसुस हुन्छ ।

पश्चिम नेपालका स्वदेशी उत्पादन, तराई, पहाड र हिमाली क्षेत्रमा उत्पादित खाद्यवस्तु तथा पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्न नेपालगन्ज उद्योग वाणिज्य संघले साढे दुई दशकदेखि व्यापार तथा औद्योगिक मेला लगाउँदै आएको छ । सुरु सुरुमा व्यापार मेला, त्यसपछि मध्यपश्चिमाञ्चल क्षेत्रीय महोत्सव र संघीयतापछि प्रादेशिक महोत्सवका रुपमा आयोजना गर्दै आएको छ । संघले आयोजना गरेका महोत्सवले उद्योगी, व्यवसायीलाई नयाँ उर्जा र उत्साह दिने, नेपालगन्जको परिचय देश विदेशमा पुग्ने मात्र होइन आमजनसमुदायमा समेत व्यापार, व्यवसाय र विकास निर्माणका सवालमा जागरण ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीको मारमा परेका पश्चिम नेपालका, उद्यमी, उद्योगी र व्यवसायीहरुलाई एउटै थलोमा राखेर आर्थिक समृद्धि सम्बन्धी विचार विमर्श गर्ने, स्थानीय तथा स्वदेशी उत्पादनको बजारीकरण गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन प्रादेशिक महोत्सव आयोजना गर्न गइरहेका छौं ।
‘सबल उद्योग, उद्यमशाला, कृषि, जडीबुटी, पर्यटन र व्यापार ः समृद्ध अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ आगामी २०८१ पुस ४ गतेदेखि पुस १६ गतेसम्म नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा प्रादेशिक महोत्सव–२०८१ आयोजना गर्न गइरहेका छौं ।
लुम्बिनी प्रदेशका सम्पूर्ण उद्योगी, व्यवसायीहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उद्योगी, व्यावसायीहरु समेत एउटै स्थानमा समेटेर आयोजना गर्न लागिएकाले महोत्सवबाट औद्योगिक एवम् व्यवसायिक क्षेत्रमा नविन उर्जा थप्दै आर्थिक क्षेत्रबाट राष्ट्रलाई नै ठूलो योगदान पुग्ने कुरामा हामी विश्वस्त छौँ । नेपाल लगायत अन्तराष्ट्रिय (छिमेकी राष्ट्रहरु) औद्योगिक एव व्यापारिक प्रतिष्ठानहरुका साथै सरकारी तथा गैह् सरकारी संघ संस्थाहरुको गरी ३०० बढी स्टल रहने छन् । तीन लाख भन्दा बढीले महोत्सव अवलोकलन गर्ने हाम्रो अनुमान छ ।
पश्चिम नेपालको उद्योग, व्यवसाय, पर्यटन र कृषि क्षेत्रको समृद्धिमा टेवा पु-याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रादेशिक महोत्सव –२०८१ लाई सफल बनाउन संघीय, प्रदेश र स्थानीय सरकार, उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संस्कृतिकर्मी, राजनीतिक दल, नागरिक समाज, पत्रकार, आमनागरिकलगायत सबैको साझा दायित्व हुने भएकाले हामी सह–आयोजक, प्रायोजक, सह–प्रायोजक बनेर समन्वय, सहकार्य र साझेदारका रुपमा सहयोग गर्न हार्दिक अपिल गर्दर्छौ ।

टंकबहादुर धामी, अध्यक्ष
भीमबहादुर रानाभाट, महासचिव
२०८१ कार्तिक ५ गते