आइतवार, मंसिर १४, २०७७ / Sunday 29th November 2020

पोल गाडेको साढे २ दशकपछि सांसद नमूनाद्वारा नरैनापुरमा विद्युत सेवा शुभारम्भ

नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा पोल गाडेको झन्डै साढे दुई दशकमा पहिलो पटक विद्युत सेवा पुगेको छ ।
प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले मंगलबार नरैनापुरका ४ ठाउँमा ट्रान्सर्फमरको स्वीच अन गरेर विद्युत सेवाको औपचारिक शुभारम्भ गरेकी हुन् ।

  उनले नरैनापुर १ को कट्कुइँयास्थित हुलाकी सडक किनार र सशस्त्र प्रहरी बलको बीओपी, नरैनापुर ३ को लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र र नरैनापुर ५ को मोतिपुर गाउँमा ट्रान्सर्फमरको स्वीच अन गरेर विद्युतीकरणको औपचारिक उद्घाटन गरेकी हुन् । आर्थिक वर्ष ०५३ ५४ सालमा तत्कालीन सांसद प्रेमबहादुर भण्डारीले नरैनापुरमा विद्युतका पोल गाडेका थिए । पोल गाडेको अढाइ दशकपछि नरैनापुरको वडा नं. १ देखि ६ सम्मको हुलाकी सडकको दुबै किनारका बस्तीमा बत्ति बलेको छ । नरैनापुरमा गाउँगाउँमा भने असोज महिनाभित्र बिजुली पुग्ने विद्युत प्राधिकरणले जनाएको छ ।
विद्युत सेवा शुभारम्भ गर्दा खुसीले भावुक बनेकी सांसद नमूना नरैनापुरमा बिजुली बल्दा अत्यन्त हर्षित भएको बताएकी थिइन् । ‘पोल गाडिएको छ । हरेक चुनावी नारा बिजुली भनिएको छ । यस्तो अवस्थामा नरैनापुरवासीलाई अन्धकारबाट जोगाउन मैले निकै प्रयत्न गरे’, उनले भनिन्, ‘यो हाम्रो एक्लो प्रयासबाट मात्र सम्भव भएको होइन । विद्युत प्राधिकरणका तत्कालीन क्षेत्रीय प्रमुख मनोज सिंहले ठेक्का तोडेर नरैनापुरमा विद्युत सेवाका लागि ब्रेक थ्रु गर्नु भएको हो । अहिलेका क्षेत्रीय प्रमुख मुनिन्द्र ठाकुरले लकडाउनमै नरैनापुरमा विद्युत सेवा विस्तार गर्ने आँट गर्नुभयो । उहाँहरु धन्यवादको पात्र बन्नुभएको छ ।’

उनले नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, बाँकेका प्रमुख रामबहादुर कुरुम्बाङ, नेपाली सेनाका गणपति नकुल थापा र ठेकेदार त्रिलोक धितालले कोरोना कहरका बीचमा नरैनापुरमा विद्युत सेवा विस्तारका लागि गरेको योगदानको चर्चा गरेकी थिइन् । लकडाउनलाई विद्युत सेवा विस्तारका लागि अवसरको रुपमा नलिएको भए नरैनापुरवासीले विद्युत सेवा पाउन अझै २ वर्ष कुर्नुपर्ने अवस्था रहेको उनले बताइन् । पक्की सडक र विजुली पुगेपछि अब नरैनापुर दुर्गम नरहेको उनको भनाइ थियो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले विद्युत सेवा पुग्नुलाई आफ्नो र नरैनापुरवासीका लागि ठूलो खुसीको कुरा भएको बताएका थिए । उनले पटक पटक सांसद नमूनालाई देखाउँदै ‘विद्युत सेवा पुग्नुमा बहिनीको देन हो’ भनेका थिए । बर्षौंदेखिको नरैनापुरबासीको बिजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुसी भएको बताउँदै अब सिँचाइसँगै उद्योगधन्दाको विकास गर्न बाटो खुलेको बताए ।
क्षेत्रीय विद्युत प्राधिकरण केन्द्र नेपालगञ्जका प्रमुख मुनिन्द्र ठाकुरले बिजुली नहुँदा कोरोना कहरमा नरैनापुरले भोगेको पीडा देखेर आफूले लकडाउनकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताए । उनले परिवारका सदस्यले नरैनापुर नजानु भनेको, पटक पटक काम गर्ने मानिस ल्याउँदा पनि भाग्ने गरेको स्मरण गर्दै सांसद नमूना, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ र नेपाली सेनाको सहयोगले काम गर्न उर्जा मिलेको भन्दैै प्रशंशा गरेका थिए । उनले भने, ‘अब राप्ती सोनारीमा पनि चाँडै नै यसरी नै बत्ति बाल्छु ।’
उनले नरैनापुरका विपन्न परिवारलाई निःशुल्क मिटर जडान गरिदिने र उनीहरुले १० युनिट भन्दा कम विद्युत खपत गरे शुल्क पनि तिर्न नपर्ने बताएका थिए । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोनाबाट मुक्ति पाएको नरैनापुरमा नयाँ युगको सुरुवात भएको बताएका थिए । नेकपाका जिल्ला सचिव अशोक कोइराला सडक र विद्युत पुगेसँगै नरैनापुर क्षेत्रको विकासका लागि पहल गरिने बताएका थिए ।

ठेकेदार त्रिलोक धितालले परिवारका सदस्यले नरैनापुरमा कोरोना महामारीका बेला जानु पर्दैन । ठेक्का क्यान्सिल गर भन्दा पनि दुःख परेको बेलामा जोखिम मोलेर राज्यप्रतिको आफ्नो दायित्व निर्वाह गरेकोमा गर्व गरे । उनले बाँकेमा कामदार नपाएपछि कैलालीबाट बढी रकम तिरेर कामदार ल्याएर काममा लगाएको बताए । गाउँमा विद्युत सेवा विस्तारमा योगदान दिएको भन्दै स्थानीयले सांसद नमूना र नरैनापुर गाउँपालिका अध्यक्ष शाहलगायतलाई खादा लगाएर खुसी साँटेका थिए भने खुसीयालीमा मिठाइ पनि बाँडिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *