यस्ता कारणले बढिरहेको छ बालविवाह

लेखक : सविता गुरूङ

२० भन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ। पहिले आफ्नै आमाबुबाले जबरजस्ती घरबाट नै सानो उमेरमा बिहे गरिदिने गर्थे। सानै उमेरमा बिहे गरिदिएँ पुण्य कमाइन्छ भन्ने सोचले, समाजमा आफ्नो इज्जत कायम राख्न, पढाएपछि त्यही अनुसारको धेरै दाइजो दिनुपर्छ भन्ने सोचको कारणले गर्दा ६ र ७ वर्षको उमेरमा नै बिहे गरि पठाइदिने गरिन्थ्यो । जसको कारण उनीहरु पढ्न लेख्न, आफूले चाहेको, आफ्नो इच्छा आकांक्षा पूरा गर्न आदिबाट बन्चित भइ कापीकलम खेलौना समाउने उमेरमा पारिवारिक बन्धनमा बाँधि घरको कामकाज गर्नुपर्ने हुन्थ्यो। उदाहरणको रुपमा हामीहरुले आफ्नै हजुरआमा, छिमेकमा पनि हेर्न सक्छौ तर आजभोलि जति जति विकास हुँदै गयो, समाज परिवर्तन हुदै आयो त्यति नै ती सोचहरुमा पनि धेरै मात्रामा बदलाब आयो। आजभोलि धेरै आमाबाबुहरूले आफ्नो छोराछोरीलाई शिक्षा दिने घरको कामकाज मात्र नलगाउने, हिडडुल गर्न दिने गरेका छन् । धेरै अभिभावकहरूले सानो उमेरमा बिहे गर्दिनु हुदैन भन्ने कुरा बुझि आफ्नो सन्तानको इच्छा आकांक्षा पूरा गरि राम्रो शिक्षादीक्षा दिएका छन् तर आजभोलि ती बालबालिकाहरू नै आफै भागि बिहे गर्ने गरेको छन्। किन उनीहरु आफै कम उमेरमा बिहे गर्छन त ? के कारणले उनीहरु स्वयं आफै बिहे गर्ने गर्छन त ? के बिहे गर्नु उनीहरुको बाध्यता हो ? यस्ता धेरै प्रश्नहरू मानिसहरुले गरेका छन् ।

आजभोलिका बालबालिका तथा किशोरकिशोरीहरुले सामाजिक सञ्जालको दुरुपयोग गरेर बालविवाह गरेको छन्। फेसबुक,ट्वीटर, मेसेन्जरजस्ता अन्य सामाजिक सञ्जालमा धेरै समय बिताएर पढाइतर्फ ध्यान नगरि सामाजिक सञ्जाललाई धेरै नै महत्व दिई त्यसको गलत प्रयोगले बालविवाह भयको छ। कतिले घरमा भएको आर्थिक समस्या र घरमा हुने झैझगडा, कलह सहन नसकेर आफ्नो उमेर नहेरि सानै उमेरमा पनि बिहे गरेको खबर थाहा पाएका छौँ। त्यसपछि कानुन कार्यान्वयन पक्ष बलियो नभएको कारणले पनि बालविवाह भइरहेको छ। यसैगरी पठनपाठनमा समावेश गरिएको यौन शिक्षा सम्बन्धी पाठहरू लाज मानि नपढाएको कारणले पनि बालविवाह भइरहेको छ र आजभोलि धेरै मात्रामा बालविवाह हुनुको मुख्य कारण खुला सिमानालाई लिइएको छ। नेपालमा २० वर्षभन्दा कम उमेरका बिहे गरे त्यसलाई बालविवाह मानिएको हुँदा उनीहरु छिमेकी देश भारतमा गई धेरै मानिसहरुले सानो उमेरमा नै बिहे गरेका छन् । यी धेरै कारणहरूले गर्दा आजभोलि बालविवाह भइरहेको छ।

बालविवाहको कानुनी अवस्थाबारे जानकारी दिँदै नेपालगन्ज उपमहानगरपालिका -२१ का एक वृद्ध । फोटो : मेरो खुसी

नेपाललाई बालविवाह मुक्त देश बनाउने हो भने सर्वप्रथम कानुन कार्यान्वयनको पक्ष बलियो हुन जरूरी छ। कसैले बालविवाह गरेको खबर थाहा पाउने बित्तिकै छानबिन गरी कानुनी कारबाही गर्नुपर्छ। नेपाल र भारतको खुला सिमाना भएको हुँदा नाकामा कडा निगरानी गर्न जरुरी छ । यौन शिक्षा सम्बन्धी ज्ञान लिन बालबालिका तथा किशोरकिशोरीहरुलाई अति नै जरुरी भएको हुँदा लाज नमानि पठनपाठनमा भएको यौन शिक्षाबारे पढाउनु पर्छ। किशोरकिशोरी ,बालबालिका तथा अभिभावकहरूलाई पनि सानै उमेरमा बिहे गरेपछि वा गराएपछि हुने कानुनी सजायदेखि लिएर सम्पूर्ण सामाजिक, मानसिक तथा शारीरिक स्वास्थ्य समस्याहरु, के के कुराहरुबाट बन्चित भइन्छ भन्ने कुराहरू सिकाउनु पर्छ। यदि हामीहरुले यी कदम निरन्तर रुपमा अगाडि बढाइ राख्यौ भने चाँडै नै नेपाल बालविवाह मुक्त देश भनेर चिनिनेछ। (लेखक गुरूङ बाँकेको खजुरामा गठित लगनशील किशोरी क्लबमा आबद्ध छिन् )