खुट्टाभरी गड्यौला जस्ता नसा, अप्रेशन गर्न पैसा अभाव

दुई दशकदेखि भेरिकोज भेन समस्याबाट पीडित बाँकेको जानकी गाउँपालिका-३ की सविता बुढा उपचार अभावमा

नेपालगन्ज : खुट्टामा वरिपरी गड्यौला जस्ता नसा नै नसा छन् । खुट्टा सुन्निएर हात्तीपाइले रोग लागे जस्तो केही मोटो पनि छ । झट्ट हेर्दा समस्या यत्ति मात्र देखिन्छ । खासै केही भए जस्तो पनि लाग्दैन । ‘पाकेको घाउ चर्के जस्तै दुख्छ । पाइला नै चाल्न सक्दिन । रातमा सुत्न र दिनमा हिड्नै मिल्दैन’, बाँकेको जानकी गाउँपालिका–३ रत्ननगरकी ३८ वर्षीया सविता बुढाले आफ्नो स्वास्थ्य समस्या सुनाइन् ।
‘१५/१६ वर्षको उमेरमा पैतलाको नसा बाहिर निस्केको थियो । थोरै नसा देखिन्थ्यो । विस्तारै बढ्दै गयो । अहिले त तिघ्रासम्म पुगेको छ । दुःखाइ कम गर्ने औषधि दुई चार दिन खान्छु । औषधि खायो । दुई चार महिना ठीक हुन्छ । फेरि थला पार्छ’, उनले समस्या दर्शाइन्, ‘कहिले काँही त नसाबाट पानी पनि चुहिन्छ ।’

बाँकेको जानकी गाउँपालिका-३ की सविता बुढाको भेरिकोज भेन समस्या

उनलाई आफ्नो रोगै के हो भन्ने थाहा छैन । ‘क्यान्सर भनेर उपचार गर्न गए । होइन रहेछ । केहीले क्षयरोग (टीबी) भनिदिए । जँचाए, टीबी पनि होइन’, रोगबारे उनले जानेको बुझेको कुरा यत्ति मात्र हो । संवाददाताले सविताको खुट्टाको फोटो पठाएर भेरी अस्पतालका छाला रोग विशेषज्ञ डा.बद्रि चापागाई र फिजिसियन डा.खगेन्द्र जंग शाहसँग बुझ्दा उनलाई भेरिकोज भ्यानको समस्या रहेको पत्ता लाग्यो ।
नसा फुल्लिएर गँड्यौला जस्तो देखिने स्वास्थ्य समस्यालाई मेडिकल भाषामा भेरिकोज भेन भनिन्छ । खुट्टाका नसा फुल्दै जानु, उभिँदा दुख्ने र खुट्टा गल्ने हुनु, खुट्टाको छालाको रङमा परिवर्तन आउनु, खुट्टाको छालामा घाउ देखापर्नु यो रोगका लक्षण हुन् । यस्ता समस्या भएका व्यक्तिमा खुट्टा भारी हुने, गल्ने, दुख्ने, छालाको रङमा परिवर्तन हुने, कालान्तरमा खुट्टाको छालामा घाउ आउने, चोट लाग्दा धेरैबेर रगत बग्ने हुन्छ । सेक्युरिटी गार्ड, ट्राफिक प्रहरी, शिक्षक, नर्स, भरिया जस्ता लामो समय उभिएर काम गर्नुपर्ने पेशाका व्यक्तिहरूमा भेरिकोज भेनको समस्या हुन्छ । गर्भकाल, कब्जियत, अत्यधिक मोटोपन र कसै–कसैमा वंशाणुगत कारणले पनि यो समस्या देखा पर्नसक्ने चिकित्सकहरु बताउँछन् ।
शल्यक्रिया गरे रोग निको हुन्छ । रेडियो फ्रिक्वेन्सी एबलेसन पद्दतिबाट पनि उपचार सम्भव हुन्छ । यो प्रविधिमा सतही शिराभित्र मसिनो तार जस्तो औजार छिराएर रेडियो फ्रिक्वेन्सी वेभको सहायताले भेरिकोज भेनको समस्यालाई पूर्णतः निर्मूल गरिन्छ । ‘डाक्टरले नेपालगन्जमा अप्रेशन हुँदैन भनेका छन् । काठमाडौं कि लखनउ जानुपर्छ । अप्रेशन गर्न ६०÷७० हजार रुपैयाँ लाग्छ भन्छन् । त्यत्तिको पैसा मैले कहाँबाट ल्याउनु ?’, उनले सहयोगको गुहार गरिन्, ‘हामी जस्ता विपन्न वर्गले कसरी, कहाँ गएर उपचार पाउनु ?’
उनका ३ वटा छोरा छन् । प्लस टु पढ्दै गरेको २० वर्षको जेठो छोरा दीपक घर खर्चको जोहो गर्न होटलमा काम गर्न थालेको छ । १६ वर्षको माइलो भरत ९ कक्षामा र ९ वर्षको कान्छो हेमन्त ३ कक्षामा पढ्छन् । ‘पतिले के गर्नुहुन्छ’, प्रश्न भुँइमा खस्न नपाउँदै उनले भावुक हुँदै भनिन्, ‘घर बनाउने मिस्त्री हो । मेरो उपचारका लागि उहाँले कुनै सहयोग हुन्न ।’