नेपालीलाई लक्षण बिनै कोरोना, १६ प्रतिशतमा मात्र लक्षण
नेपालका ३१ जना कोरोना संक्रमितमध्ये २६ जनामा कुनै प्रकारको अस्वस्थता वा बिरामी भएको लक्षण देखिएन, कूल संक्रमितमध्ये ८४ प्रतिशतमा कुनै लक्षण थिएन
नेपालगन्ज : कोरोना भाइरस (कोभिड-१९) को कुनै लक्षण देखिएन भनेर पनि ढुक्क नहुनुस् । अधिकांश नेपाली संक्रमितलाई कुनै पनि लक्षण नदेखिएर नैै कोरोना रोग लागेको अभ्यासले देखाएको छ ।
नेपालमा ३१ जना कोरोना संक्रमितमध्ये २६ जनामा कुनै प्रकारको अस्वस्थता वा बिरामी भएको लक्षण नदेखेको खबर मंगलबारको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ । तीमध्ये तीन जनालाई मात्र ज्वरो देखिएको थियो । लक्षणविहीन संक्रमितलाई चिकित्सा भाषामा एसिम्प्टोम्याटिक भनिन्छ ।
सबैभन्दा बढी संक्रमित विराटनगरको कोसी अस्पतालमा छन् । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रका अनुसार सबै संक्रमित स्वस्थ नै छन् । उनले भनेकी छन्, ‘उहाँहरुले कुनै शारीरिक अस्वस्थता पनि अनुभव गर्नु भएको छैन ।’