सार्कका ५ देशमा कोरोनाबाट ३७५ को मृत्यु (सूचीसहित)
नेपालगन्ज : दक्षिण एशिया का ८ वटा देशमा कोरोना (कोभिड १९) संक्रमणबाट शनिबार राति ९ बजेसम्म तीन सय ७५ जनाको ज्यान गएको छ ।
विश्वमा कोरोना भाइरसको महामारीबारे अपडेट गर्ने अनलाइन वल्डोमिटर्स डट इन्फोको अनुसार सबैभन्दा बढी भारतमा दुई सय ४९ जनाको ज्यान गएको छ ।
सार्कमा सबैभन्दा बढी संक्रमित र मृत्यु भारतमा छ भने नेपाल, भुटान र माल्दिभ्समा कसैको पनि ज्यान गएको छैन । सबैभन्दा कम संक्रमित भुटानमा पाँच जना छन् । त्यसपछि नेपालमा ९ जना संक्रमित रहेकोमा एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
भारतमा संक्रमितको संख्या सात हजार ६ सय पुगेको छ भने मृत्यु दुई सय ४९ जनाको भएको छ । अहिलेसम्म सात सय ४४ जना उपचारपछि घर फर्किसकेका छन् । पाकिस्तानमा चार हजार सात सय ८८ जना संक्रमित रहेकोमा ७१ जनाले ज्यान गुमाएका छन् । बंगलादेशमा ३० जना, अफगानिस्तानमा १८ र श्रीलंकामा ७ जनाको ज्यान गएको छ ।
विश्वमा १७ लाख २७ हजार संक्रमित भएका छन् । अहिलेसम्म एक लाख पाँच हजार २८ जनाको मृत्यु भइसकेको छ । निको भएर घर फर्कनेको संख्या भने तीन लाख ९० रहेको छ ।