संक्रमित बालिकाकी हजुरआमासहित राजापुरका ३९ जनाकै रिपोर्ट नेगेटिभ

राजापुर, बर्दिया : बर्दियाको राजापुरका ३९ जनाको कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको छ । राजापुर ५ स्थित किसान माविको क्वारेन्टाईनमा बसेकी ११ बर्षिय बालिकामा संक्रमण देखिएपछि मंगलबार उनको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरि पठाईएकोमा सबैको नतिजा नेगेटिभ आएको हो ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पीसीआर प्रविधिवाट गरिएको परिक्षणबाट बुधबार राती ३९ जनाकै नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताए । यसअघि क्वारेन्टाईनमा बसेका ४१ जनाको परिक्षण गरिएकोमा ११ बर्षिय बालिकामा कोरोना पोजेटिभ देखिएको थियो । बालिकामा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका व्यक्तिहरुको परिक्षण गर्दा संगै क्वारेन्टाईनमा बसेकी बालिकाकी हजुरआमा लगायत सबैको नेगेटिभ आएको हो । संगै एउटै बेडमा सुत्ने, खाने लगायत क्लोज कन्ट्याक्टमा रहेकी हजुरआमाको नतिजा दुईपल्ट नेगेटिभ आएपछि स्थानीयका साथै स्वास्थ्यकर्मी समेत अचम्मीत भएका छन । राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले क्लोज कन्ट्याक्टमा रहेकी बालिकाकी हजुरआमाको नतिजा नेगेटिभ आउँदा धेरैले प्रश्न गरीरहेको बताए ।
यसैबिच बालिकाका आफन्तले थ्रोट स्वाबको नमूना फरक परेको हुनसक्ने भन्दै तत्कालै पुनः परीक्षण गर्न माग गरेका छन् । हाल संक्रमित बालिकालार्ई बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ । यदी बालिकाको नतिजा नेगेटिभ आयो भने थ्रोट स्वाबको नमूना फरक परेकोतर्फ ध्यान दिएर क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको सबैको पुन जाँच गर्नुपर्ने हुनसक्ने स्वास्थ्यकर्मीहरु बताउँछन ।