नरैनापुरमा भारतबाट आएर अलपत्र ३ सय ३३ जनालाई क्यारेन्टाइनमा राखियो

 

नरैनापुर : मुलुक लकडाउन भएको करिब २ महिना पुग्न लाग्दा समेत भारतका विभिन्न स्थानबाट नेपालीहरू फर्किने क्रम रोकिएको छैन । भारतबाट फर्केर बैशाख २० गते सीमा क्षेत्रमा अलपत्र परेपछी बाँकेको नरैनापुर गाउँपालिकाले बुधबार ३ सय ३३ जनालाई क्वारेन्टाइनमा ल्याएर राखेको   छ ।

भारतका विभिन्न सहरबाट फर्केका उनीहरुलाई गाउँपालिकाले बनाएको विभिन्न ७ वटा क्वारेन्टाइनमा राखिएको अध्यक्ष इस्तियाक अहमद शाहले बताए । ठूलो संख्यामा एकैसाथ स्थानीयहरु भारतबाट फर्केपछि क्वारेन्टाइनको संख्या थपेर उनीहरुको व्यवस्थापन गरिएको उनको भनाई छ । “अहिले पनि मानिसहरु आउने क्रम जारी छ, सीमामा आएकाहरुलाई ल्याएर क्वारेन्टाइनमा राखिरहेका छौं, व्यवस्थापन गर्न गाह्रो भइरहेको छ तर पनि यथासक्य गरिरहेका छौं,” अध्यक्ष शाहले भने । दुई दिनको अवधिमा आएका ३ सय ३३ जना मध्ये ५८ जनालाई वडा नम्बर ६ को भोजपुरस्थित जयकिसान मावि, ६६ जना वडा नम्बर ५ को भगवानपुरस्थित दिपेन्द्र प्रावि, वडा नम्बर ४ को नेरा प्रावि पर्शुरामपुरमा ५७ जना, लक्ष्मणपुर २ आदर्श माविमा ७९, नेरा प्रावि शंकरनगर कोटियामा ४० र नरैनापुर ४ को एक मदरसामा ३३ जनालाई राखिएको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिए। त्यस्तै यसअघि आएका ३४ जनालाई नेरा प्रावि खोदवाँमा राखिएको छ । ती ३४ सहित ३५ जनाको आजै पिसिआर विधिबाट परिक्षणका लागि स्वाब पनि लिइएको स्वास्थ्य उपप्रमुख शाहले बताए ।