नरैनापुरका ८ जना कोराना संंक्रमितलाई दाङको कोरोना विशेष आइसोलेसन अस्पताल लगियो
नेपालगन्ज : बाँके जिल्लाको नरैनापुरका ८ जना कोरोना संक्रमितहरुलाई दाङकोे बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएको छ ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार शुक्रबार पौने चार बजेतिर एउटा ठूलो एम्बुलेन्समा उनीहरुलाई दाङ पठाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार बिहान नरैनापुर वडा नम्बर १, ३ र ५ का ८ जना पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु नेरा प्रावि खोदवाँ क्वारेन्टाइनका २ जना र दिपेन्द्र प्रावि भगवानपुर क्वारेन्टाइनका ६ जनामा कोरोना देखिएको अध्यक्ष शाहले बताए । नरैनापुरका ११ वटा क्वारेन्टाइनमा अहिले ५ सय बढीलाई राखिएको छ । भारतबाट आउने क्रम अझैं जारी छ । शुक्रबार मात्र थप ४० जना आएका छन् ।