बाँकेमा थप १४ जनामा कोरोना संक्रमण

राप्तीसोनारीमा पनि देखियो कोरोना


नेपालगन्ज : बाँकेमा थप १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो सवा ४ बजे गरेको भिडियो पत्रकार सम्मेलनमा नरैनापुृर गाउँपालिकामा १३ र राप्तीसोनारी गाउँपालिकामा १ गरी थप १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनीहरुको उमेर १८ देखि ६१ वर्षको रहेको छ ।
शुक्रबार पुष्टि भएको संख्यासँगै बाँकेमा कोरोना संक्रमितको संख्या एक सय १५ पुगेको छ । नरैनापुरमा मात्र ८६ जना, नेपालगन्जमा २५, खजुरामा २ र राप्ती सोनारीमा एक जना संक्रमित भएका छन् । यीमध्ये नरैनापुरमा एक जनाको मृत्यु भएको छ भने नेपालगन्जका २१ जना निको भएर घर फर्किसकेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो कैलालीका ३ जना, डडेलधुराका १, बैतडीका १ र मोरङका १ जनामा गरी थप २० जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार बिहान थप ३० जनामा संक्रमण पुष्टि भएको थियो । डडेलधुरा र बैतडीमा पहिलोपटक संक्रमण देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५०७ पुगेको मन्त्रालयले जनाएको छ ।