नेपालगन्जको गर्मीलाई उछिन्यो धनगढी र दीपायलले
नेपालगन्ज : शनिबार रातिदेखि आइतबार दिनभर नेपालगन्जमा निकै गर्मी महसुस भयो । जल तथा मौसम विज्ञान विभागको अनुसार आइतबार सर्वाधिक तापक्रम कैलालीको धनगढीमा ४०.१ मापन गरिएको थियो । दीपालयमा पनि ४० डिग्री सेल्सियस तापक्रम पुगको थियो । नेपालको सबैभन्दा गर्मी स्थान नेपालगन्जलाई आइतबार धनगढी र दीपालयले उछिनेको थियो ।
विभागको नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकका अनुसार आइतबार दिउँसो साढे २ बजेसम्म ३८.६ डिग्री सेल्सियस तापक्रम थियो । अपरान्ह ५ः५० सम्म तापक्रम बढेर ३९.५ पुगेको छ । नेपालगन्जमा यो तापक्रम यो वर्षकै सबैभन्दा उच्च तापक्रम हो । यस अघि ६ जेठमा सर्वाधिक ३९ डिग्री सेल्सियस तापक्रम रहेको थियो । जबकी गत वर्षसँग तुलना गरेर हेर्ने हो भने २० मे २०१९ मा ४३.५ डिग्री सेल्सियस तापक्रम रहेको थियो । सन् २०१२ मा भने भने नेपालगन्जको तापक्रम ४५ डिग्री पुगेको थियो ।