नरैनापुरका प्रहरीलाई पूर्वमन्त्री राईद्वारा १०१० थान मास्क उपलब्ध

नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदी नरैनापुरको इलाका प्रहरी कार्यालय भगवानपुरका हवल्दार तेजबहादुर विकलाई नेपालगन्जमा मास्क हस्तान्तरण गर्दै । फोटो : मेरो खुसी

नेपालगन्ज : पूर्वसहरी विकास मन्त्री मोहम्मद इतियाक राईले बाँकेको नरैनापुरमा कार्यरत प्रहरीहरुका लागि एक हजार १० थान मास्क सहयोग गरेका छन् ।
मेरो खुसी डट कमले शनिबार कोरोनाको अति जोखिमपूर्ण क्षेत्र नरैनापुर गाउँपालिकाका प्रहरीहरुसँग कपडाको मास्क मात्र रहेकोबारे समाचार प्रकाशित गरेको थियो । समाचारमा नरैनापुरमा कार्यरत प्रहरीले मास्क, पञ्जा, सेनिटाइजरहरुको अभाव भएको बताएका थिए । नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदीको पहलमा आइतबार मन्त्री राईले एक हजार थान सर्जिकल मास्क र १० वटा एन ९५ माक्स सहयोग गरेका हुन् ।

बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीलाई मास्क हस्तान्तरण गर्दै पूर्व समाजवादी पार्टीका बाँके अध्यक्ष कमरुद्दिन राई । फोटोे : सदरलाइन डटकमबाट

पत्रकार सुवेदीले नरैनापुरको इलाका प्रहरी कार्यालय भगवानपुरका हवल्दार तेजबहादुर विकलाई नेपालगन्जमा मास्क हस्तान्तरण गरेका हुन् ।

माक्स पाएपछि खुसी हुँदै इप्रका भगवानपुरका इन्चार्ज मानबहादुर विसीले नरैनापुरमा रहेका प्रहरी युनिटहरुलाई दामासाही हिसाबले वितरण गरिने बताए ।  पूर्वमन्त्री राईले समस्यामा परेका जोसुकैलाई सहयोग गर्नु आफ्नो धर्म भएको प्रतिक्रिया दिए । उनले मेरो खुसीसँग भने, कोरोना भाइरस नियन्त्रणको अभियानमा प्रहरीहरु फन्ट लाइनमा काम गरिरहेकाले उनीहरु उच्च जोखिममा छन् । मास्क अभाव भएको खबर पाएपछि सहयोग गरेको हुँ ।
उनले आइतबार मात्रै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल पत्रकार महासंघ बाँके, ट्राफिक प्रहरीलगायतका जिल्लामा सुरक्षा अधिकारीहरुलाई पनि एन ९५ र सर्जिकल मास्क, सेनिटाइजर र पञ्जा सहयोग गरेका थिए ।