टीकापुर, जानकी र जोशीपुरका क्वारेन्टाइनमा १०००

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरसहित तीन वटा पालिकाका क्वारेन्टाइन भरिएका छन् ।
भारतका विभिन्न राज्यबाट सुदूरपश्चिम प्रदेशको गौरीफाँन्टा र गड्डाचौकी नाकाबाट घर फर्केका नेपालीले टीकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका २६ वटा क्वारेन्टाइनमा करिब १ हजार जनालाई राखिएको छ ।
टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार नगरपालिकाका ११ वटा क्वारेन्टाइनमा चार सय ६६ जनालाई राखिएको छ ।
पछिल्लो पटक मङ्गलवार वीरेन्द्र विद्यामन्दिर नमूना माध्यमिक विद्यालय टीकापुरमा ४९ र त्रिभुवन माध्यमिक विद्यालय बटनपुरमा ३१ जनालाई क्वारेन्टाइन बनाएर राखिएको छ ।
त्यस्तै, जनजागृति माध्यमिक विद्यालय सीतापुरमा–५०, जनप्रकाश आधारभूत विद्यालय बाघमारामा–३०, हिमालय माध्यमिक विद्यालय घियामा–५९, सेतीमैयाँ चौधरी माध्यमिक विद्यालय झुङ्गामा–५८, कर्णाली नमूना प्राविधिक माध्यमिक विद्यालय टीकापुर–४१, राष्ट्रिय माध्यमिक विद्यालय मनिकापुरमा–४६, राष्ट्रिय माध्यमिक विद्यालय नारायणपुर बेलुवामा–५१ र कर्णाली माध्यमिक विद्यालय सत्ती क्वारेन्टाइनमा ५१ जनालाई राखिएको छ ।
रावल क्वारेन्टाइन व्यवस्थापन गर्न समुदायबाट विरोध सुरु भएको बताउँछन् । क्वारेन्टाइनमा आउने वित्तिकै कोरोना संक्रमित हुने, संक्रमण फैलिने सोंचमा परिवर्तन ल्याउन जरूरी रहेको बताएका छन् ।
त्यस्तै जानकी गाउँपालिका वडा नं. ३, ४ र ७ का चार युवकलाई टीकापुर अस्पतालको आइसोलेशनमा राखिएपछि नियमित उपचारका लागि आउने विरामीको संख्या ह्वात्तै घटेको छ । उपचारका लागि आउने विरामीमा देखिएको त्रास व्यवस्थापनका लागि अब आउने कोरोना संक्रमित वा आशङ्कित विरामीलाई टीकापुरको सीटी हलमा आइसोलेशन कक्ष बनाएर उपचार हुने भएको छ । त्यसका लागि आवश्यक तयारीको क्रम शुरू भएको समेत स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिएका छन् ।

कहाँ कति क्वारेन्टाइन
टीकापुर नगरपालिकाका ११,क्वारेन्टाइन मा ४६६जना जानकी गाउँपालिकामा ११क्वारेन्टाइन मा २२०जना जोशीपुर गाउँपालिकामा ४ क्वारेन्टाइन मा २९०जना
यता जानकी गाउँपालिकाका विभित्र ११ क्वारेन्टाइनमा २ शय २० जनालाई राखिएको स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले जानकारी दिएका छन् ।
मङ्गलवारसम्म सरस्वती माध्यमिक विद्यालय दुर्गौली, महेन्द्रशिशु माध्यमिक विद्यालय धर्मापुर, आदर्श माध्यमिक विद्यालय खर्गौली, गौरीशङ्कर आधारभूत विद्यालय भगतपुर, जनता नमूना माध्यमिक विद्यालय मुनुवा, राष्ट्रिय आधारभूत विद्यालय अमौरी, कालिका आधारभूत विद्यालय धर्मापुर कटान, मोति माध्यमिक विद्यालय मोतिनगर, ऐश्वर्य आधारभूत विद्यालय पालबजार, राष्ट्रिय आधारभूत विद्यालय खैरीपुर र जनता आधारभूत विद्यालय अमरावतीमा क्वारेन्टाइन बनाइएको छ ।
धनगढीमा जानकी गाउँपालिकाका वासिन्दा भारतबाट आइ पुगेको जानकारी आएकाले क्वारेन्टाइनमा आउनेको संख्या बढ्ने बताइएको छ ।
क्वारेन्टाइनमा आउनेको संख्या बढ्दै जाँदा व्यवस्थापनमा चुनौति थपिएको बताउँदै स्वास्थ्य शाखा प्रमुख चौधरीले जनशक्ति र स्वास्थ्य जाँच कीटको अभाव भएकोले क्वारेन्टाइनमा रहेकाहरूलाई समय पुगेर पनि घर पठाउन नसकिएको बताएका छन । र्‍यापिड टेष्ट कीट र भीटीएम नहुँदा समय पुगेर पनि क्वारेन्टाइनमा राखिरहँदा क्वारेन्टाइनमा बस्नेलाई तनाव र गाउँपालिकालाई व्यवस्थापनमा चुनौति थपिएको बताएका छन् । पछिल्लो समय भारतका विभिन्न स्थान बाट नेपाली आउने क्रम ह्वात्तै बढेपछि स्थानीय तहहरूलाई क्वारेन्टाइन व्यवस्थापनमा निक्कै चुनौती थपिएको छ ।