सद्-गुरुको आवश्यकता
मानव जीवनमा गुरुको महत्व अहम रहन्छ । हामी जन्मेपछि हाम्रो बाल्यकालमा सबैभन्दा नजिक र हरसमय साथमा रहने गुरु हाम्री आमा हुन्छिन् र परिवारका अन्य व्यक्तिबाट पनि हामी त्यत्तिकै सिकिरहेका हुन्छौं । बाल्यकालबाट हुर्कर्दै आएपछि विद्यालय जाने र अध्ययन गर्ने समय शुरू भएपछि विद्यालयका शिक्षकहरू नै हाम्रा गुरु हुन्छन । जसले यो संसारिक जीवनको लागि आवश्यक र महत्वपूर्ण विषयको ज्ञान दिन्छन् ।
गुरु विना मनुष्यको जीवन सम्भव नै छैन । हरेक विधाको सिकाइमा गुरुको आवश्यकता पर्छ । चाहे त्यो उच्च शिक्षा होस् वा संगीत वा नृत्य जस्ता कलाका विधा होस् , जुनसुकै विधाको ज्ञान लिन गुरुको आवश्यकता अनिवार्य हुन्छ । कसैले भन्नुहोला गुरु विना पनि हामी ज्ञान लिनसक्छौ । हो, सक्छौ तर त्यो एकपक्षीय र अपूर्ण हुनेछ । एक पक्षीय ज्ञानमा कुनै सम्वाद हुँदैन खाली श्रवण वा पठन मात्र हुनजान्छ । जब हामीमा कुनै प्रश्न उत्पन्न हुन्छ, कुनै विषयवस्तुमा जिज्ञासा उत्पन्न हुन्छ तब हामीले सिकेको एक पक्षीय ज्ञानबाट ती प्रश्न तथा जिज्ञासाहरूको सम्बोधन हुनसक्दैन । ज्ञान तब मात्र पूर्ण हुन्छ जब हामीमा कुनै संशय रहन्न र सबै किसिमले हामीमा उत्पन्न भएका प्रश्नहरू तथा जिज्ञासाहरूको सम्बोधन हुन्छ । यस किसिमको वातावरण गुरु र शिष्यको दोहोरो सम्वादको माध्यमबाट नै सम्भव हुन्छ ।
विद्यालय, विश्वविद्यालयमा हुने अध्ययन अध्यापनमा पनि दोहोरो सम्वाद, छलफलबाट नै भइरहेको हुन्छ । हामीले सिकेको ज्ञान, परीक्षाको माध्यमबाट मापन हुन्छ साथै तोकिएको गृहकार्य मिले नमिलेको विषयमा बताइदिने कार्य शिक्षकबाट नै हुन्छ । यस्तो किसिमको सम्वाद र छलफलबाट नै हामीले अहिलेसम्मको विद्या हासिल गर्दै आएका छौ र आ आफ्नो विषयमा दक्षता हासिल पनि गरिसकेका छौं र गर्दै पनि छौं ।
आउनुहोस् अब यी सबै गुरुहरूभन्दा फरक किसिमका गुरुको बारेमा थोरै चर्चा गरांै गुरु पूर्णिमाको सन्दर्भमा हामीले जीवनमा बुझेका र भोगेका गुरुहरू भन्दा भिन्न विधाका गुरुहरूको सन्दर्भमा बुझ्न त्यत्तिकै आवश्यक छ । हाम्रो यो मानव जीवनको लक्ष्य र उद्देश्यको विषयमा न त यी नियमित गुरुहरूबाट सिकेका छौं न बुझेका छौ । यी विषयमा न त घरमा नै बहस हुन्छ न कुनै विद्यालय शिक्षामा पढाइ हुन्छ । परापूर्वकालमा अहिलेको विद्याभन्दा भिन्न यस्तै खालको ज्ञानका विषयमा गुरुहरूबाट सिक्ने कार्य हुन्थ्यो । भगवान राम, भगवान श्रीकृष्णलगायतले पनि गुरुकुलबाट नै अध्यात्मिक तथा आत्मज्ञान लिनुभएको शास्त्रहरूमा उल्लेख छन् ।
यो देखिने र भोगिरहेको जीवनभन्दा भिन्न अर्को संसार छ जुन हाम्रो शरीरमा नै मस्तिष्कको रुपमा रहेको छ । यही मस्तिष्कमा उत्पन्न हुने विचार तथा आरोहहरू र तिनको व्यवस्थापनको बारेमा हामीले हाम्रो जीवनमा रहेका नियमित गुरुहरूबाट सिक्न पाएका छैनौ । त्यो मष्तिष्क जसको माध्यमबाट नै हामी सोच विचार गछौ । यो विषय ठीक, यो बेठीक भनी जान्दछौ । यही मस्तिष्कमा उत्पन्न हुने विचारहरू तरंगहरू न त कसैले देख्दछ र न बुझ्न नै सक्दछ । यो त केवल स्वयंले नै थाहा पाउन सक्दछ र ती विचारहरूलाई सजगता अपनाएर नियमीत रुपमा योग, ध्यानको माध्यमबाट व्यवस्थापन गर्न सक्दछ । म को हुँ र मेरो जीवनको लक्ष्य के हो भन्ने प्रश्नबाट शुरू हुने अध्यात्मिक जीवनको यात्रामा उत्पन्न प्रश्न र जिज्ञासाहरूको उत्तर सत्गरुहरूबाट नै सम्भव हुनसक्छ । जुन ज्ञानले हामीलाई सुख र दुःखको भूमरीमा रहेको, रात र दिनमा चलेको यो संसार र हाम्रो जीवनलाई सहज र सरल रुपमा बुझन सजिलो बनाइदिन्छ । गुरुको माध्यमबाट नै अध्यात्मिक यात्राको लक्ष्य प्राप्त गर्न सम्भव छ । गुरु विनाको अध्यात्मिक यात्रा कठिन र संशयपूर्ण रहन्छ । गुरुको उपस्थितिले नै जीवनलाई सहज र सरल मात्र होइन खुसी र आनन्दितसमेत तुल्याइदिन्छ र आत्मियताको भावना बढाइदिन्छ ।
आज, हाम्रो समाजमा गुरुहरूको विषयमा धेरै शंका उपशंकाहरू भइरहन्छ । सद्गुरु ती हुन् जसले आफ्नो जन्म जगत हितको लागि लिएका हुन्छन् । जो कर्मले होइन इच्छा र संकल्पले जन्म लिन्छन् । जसले विज्ञानको खोजी हैन आत्मज्ञान विस्तार गर्छन् । तर आममानिसहरूको जन्म भने कर्मले नै भइरहेको हुन्छ । यीभन्दा पर छन् सद्गुरुहरू, जो ईश्वर र ईश्वरीय तत्वसँग जोडिएका हुन्छन् । जो कर्म बन्धनबाट पर हुन्छन् । जगतको हित, मानव धर्मको रक्षाका लागि नै उनीहरू उभिन्छन् । प्रेम, करुणा र दयाका खानी, समभाव, अविभेदको व्यवहार भएका ती सद्गुरुहरू कुनै धर्म, वर्ग र क्षेत्रसँग मात्र सम्बन्धित नभइ यी सबैबाट पर हुन्छन् । विशुद्ध भगवत् तत्वमा लिन भएका ती गुरुहरूबाट लिइएको ज्ञान नै मनुष्यको लागि हितकारी, अर्थपूर्ण र लाभदायी मात्र नभई मोक्ष प्राप्तीमा मार्गदर्शन मिल्दछ । कुनै पनि सांसारिक विषयवस्तुको ज्ञान शिक्षक, प्राध्यापक, प्रशिक्षकबाट लिन सकिन्छ । विज्ञानको विषय वैज्ञानिकबाट प्राप्त गर्न सकिन्छ तर आत्मज्ञान तथा आत्मतत्व सम्बन्धी विषयको ज्ञान सद्गुरुको माध्यमबाट मात्र सम्भव छ ।