गुरुको प्रभाव र प्राप्ति

एक शिष्यको जीवनमा गुरुको आगमन हुँदा परमसत्यको ज्ञान प्राप्‍त हुन्छ । गुरूले आन्तरिक रुपमा गहन प्रशिक्षण प्रदान गर्दै चौतर्फी विकास र दिव्यतासँग मिलन हुन्छ।
फोटो : इन्टरनेटबाट

एकजना चोर एकजना सन्त भएको स्थानमा आए। उनी सन्तको शरणमा रहन चाहन्थे, तर चोरी गर्ने काम भने त्याग्न चाहँदैनथे। सन्तले उनलाई भने, ूत्यसो भए, तिमी चोरी गर्न सक्छौ, तर अब तिमीले चोरी गर्‍यौ भने पूर्ण रुपमा सजग भएर गर्नु । चोरलाई लाग्यो कि त्यो काम त आफ्नो लागि एकदम सजिलो छ किनभने चोरी गर्ने त उनको बानी नै हो, सजग भएर चोरी गर्नु के ठूलो कुरा हो र तर जब उनी अर्को पटक चोरी गर्न गए, उनलाई सन्तको कुरा याद आयो। उनी आफ्नो कृत्यप्रति सजग भए। तव उनले चोरी गर्नै सकेनन्। चोरलाई मनमा लग्यो कि समय बित्दै गएपछि सन्तको आशिर्वाद कमजोर हुनेछ र चोरी गर्न सक्नेछु। तर जब उनले चोरीको बारेका सोच्दथे वा चोरी गर्न कुनै घरमा प्रवेश गर्थे उनलाई सन्तको आवाज याद आउँथ्यो। त्यसपछि उनले कहिल्यै चोरी गर्न सकेनन्।
सजगतामा ठूलो शक्ति छ। यसले हामीमा ठूलो परिवर्तन ल्याउन सक्छ। गल्ती सजगताको कमीका कारणले मात्र हुन्छ। सजग रहँदा कोही पनि रिसाउन सक्दैन, न त कुनै गुनासो नै गर्न सक्छ। यो तब सम्भव हुन्छ जब हाम्रो मन सांसारिक बस्तु र बन्धनबाट टाढा हटेर आफ्नो अन्तरआत्मामा समाहित हुन्छ।
हामीसँग कुनै चीजको ज्ञान भयो भने व्यवहार गर्न सजिलो हुन्छ। जब हामीमा जीवनको बारेमा केही जानकारी हुन्छ, तब जीवन सञ्‍चालन गर्न सजिलो हुन्छ। एक शिष्यको जीवनमा गुरुको आगमन भयो भने परमसत्यको बारेमा पनि ज्ञान प्राप्‍त हुन्छ।
गुरूले हामीलाई आन्तरिक रुपमा गहन प्रशिक्षण प्रदान गर्दछन्, जसबाट हाम्रो चौतर्फी विकास हुन्छ र दिव्यतासँग मिलन हुन्छ। गुरु प्रचण्ड गर्मी वा आँधीबेहरीको कारण आत्तिएको वेला प्राप्‍त भएको एक झुपडि जस्तै हो, जहाँ भित्र गएर आराम गर्न सकिन्छ। तर भित्र जानासाथ बाहिरको गर्मी र तुफान पनि सुन्दर र आनन्ददायी प्रतित हुन्छ।
गुरु ज्ञानको भण्डारयुक्त कुनै व्यक्ति होइनन् बरू स्वयं प्रकाश समान हुन्। साधकको लागि गुरु जीवनशक्ति हुन्। जसरी एक बीज पहिले एक कोपिला हुन्छ र पछि फूल बन्छ, त्यसैगरी गुरुले हामीलाई सुन्दरतापूर्वक अज्ञानबाट ज्ञानतर्फ बढाउँछन्। जीवनमा गुरुको उपस्थितिले सुरक्षाको अनुभुति हुन्छ। गुरु एक तत्व हो, व्यक्ति होइन। हामीले गुरुलाई भौतिक शारीर मात्र ठान्नु हुँदैन।
सन्त कनकदासको बारेमा एउटा अति सुन्दर कथा छ, जसबाट गुरुको उपस्थितिलाई कसरी महसुस गर्नुपर्छ भन्ने बारेमा स्पष्ट हुन्छ। एकपटक कनकदासका गुरुले उनलाई र अन्य भक्तहरूलाई एकादशीको उपवास अन्त्य गर्नको लागि केरा दिए। त्यो केरा कसैले पनि नदेख्‍ने ठाउँमा गएर खानु भन्ने गुरुको आदेश थियो। भोलिपल्ट चेलाहरूले आफूले त्यो केरा कसरी खाए भन्ने बारेमा वर्णन गरे। तर कनकदासले त्यो केरा नखाइ आफूसँगै लिएर गुरुसमक्ष आए। उनले भने कि जब उनले केरा खानको लागि प्रयास गरे, हर समय र स्थानमा उनले गुरुको उपस्थिति महसुस गरे, जसले गर्दा उनले त्यो केरा खान सकेनन्।
गुरुसँगको यस्तो अनुभवलाई सानिध्य भनिन्छ। यस अवस्थामा सम्पूर्ण दुःख, सारा सिकायत हटेर जान्छन्। कुनै शक्ति निरन्तर हाम्रो साथमा छ र उसले हामीलाई हेरचाह गरिरहेको छ भन्ने एक विश्‍वासका साथ आफ्नो कार्यमा लगनशील हुन्छौं। यस अवस्थामा सबै दुःख र गुनासोहरू समाप्‍त हुन्छन्। अर्को प्रश्‍न उठ्न सक्छ कि त्यसोभए हामी कसरी त्यो परम शक्तिसँग एक हुन सक्छौं । हामी कसरी उनलाई खोज्न सक्छौं जसले हामीलाई त्यो प्रकाशमय परमसत्ताको महसुस गराउन सक्छ। यस प्रश्नको उत्तर सजिलो छैन। हामीले आन्तरिक विवेकमार्फत मात्र यो अनुभव गर्नसक्छै।
कुनै समय राजभवनमा एकजना विद्वान शिक्षक थिए। राजभवनमा उनको ठूलो सम्मान थियो। तर उनलाई केही कुराको कमी महसुस भैरहेको थियो। वास्तवमा उनको मनमा कुनै गुरुको खोजी थियो। उनी गुरुमा समर्पित हुन चाहन्थे। जब उनले एकजना गुरुको बारेमा सुने, तब उनलाई भेट्ने तिव्र चाहना भयो। जब उनले यो कुरा राजालाई सुनाए, तब राजाले उनलाई पालकी उपहार दिएर पठाए। गन्तव्यमा पुगेपछि उनलाई थाहा भयो कि पालकी बोक्ने मानिसहरूमध्ये एक उनका स्वयं गुरु थिए, जसलाई उनी भेट्नका लागि जाँदै थिए। उनको गुरु प्राप्त गर्ने तृष्णा यति धेरै थियो कि गुरु आफै उनलाई स्वागत गर्न आए। गुरु प्राप्‍त गर्ने चाहना तिव्र भयो भने गुरु आफै शिष्यको खोजी गर्छन् भन्ने विश्‍वास गरिन्छ। (श्री श्री रवि शंकरजीको प्रवचनमा आधारित)

अनुवादक: सूर्य पराजुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *