लकडाउनमा घट्यो लागू औषध तस्करी

लागू औषधसहित बाँकेमा पक्राउ परेका भारतीय नागरिक । फोटो : मेरो खुसी

नेपालगन्ज : बाँके जिल्लामा लकडाउनका तीन महिनामा लागू औषधको कारोबार ८८ प्रतिशतले घटेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चैत्र, वैशाख र जेठ महिनामा प्रहरीले जिल्लामा लागू औषधसहित ११ जना व्यक्तिलाई मात्र पक्राउ गरेको छ । सबैभन्दा बढी चैत्रमा ७ जना, वैशाखमा ३ जना र जेठमा एक जना व्यक्ति मात्र पक्राउ परे । जबकी यही अवधिमा अघिल्लो वर्षको तथ्याङ्क विश्लेषण गरेर हेर्ने हो भने झन्डै नौ गुणाले बढी छ । चैत्र महिनामा २९, वैशाखमा ३४ र जेठमा ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । अघिल्लो वर्षको यही अवधिमा पक्राउ पर्ने व्यक्ति ८८ प्रतिशतले घटेका छन् । प्रहरीले गरेको कारबाही हेर्ने हो भने पनि ८६ प्रतिशतले घटेको छ । यो वर्ष ९ जना व्यक्ति मात्र कारबाहीमा परेका छन् भने अघिल्लो वर्ष ६७ जना छन् ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरो नेपालगन्जका प्रमुख इन्सपेक्टर वीरबहादुर थापा प्रष्ट पार्छन्, ‘बाँकेमा लागू औषध कारोबारको मूख्य बजार भारत हो । सीमा नाका ठप्प हुँदा लागू औषधको ओसारपसार र कारोबार हुन पाएन । लकडाउनमा अभिभावकसँगै सन्तान पनि घरमै बसेकाले पनि लागू औषध सेवन घटेको हुनसक्छ ।’