विप्लव समूहद्वारा बाँकेमा ६ विगाह जग्गा कब्जा
नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर ४ स्थित विवादित सार्वजनिक जग्गा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीको भातृ संगठन थारुवान जनपरिषद् नेपाल बाँकेले झण्डा गाडेर कब्जामा लिएको छ ।
जनपरिषद् नेपालले केन्द्रीय नीति अनुसार भन्दै कोहलपुर ४ स्थित किरणनाला नजिकै रहेको कित्ता नम्वर ७७, ७८ र ७९ को करिब ६ विघा जग्गामा ब्यानर टाँगेर कब्जामा लिएको जनाएको छ । सुकुम्बासी आयोगले केही वर्षअघि बाँडेको उक्त जग्गा ४१ जनाको नाममा वितरण गरिएको थियो । आइतवार बिहान प्रेस विज्ञप्ती जारी गर्दै थारुवान जनपरिषद बाँकेले उक्त सार्वजनिक जग्गामाथि सत्ताको पहुँच र पावरका आधारमा भू–माफियाहरुको गिरोहले हात पार्न खोजेको प्रति जनसत्ताको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सत्ताको पहुँच र पावरमा भूमाफियाहरुको गिरोहले सार्वजनिक जग्गामाथि गरेको लुटखसोटप्रति जनसत्ताको गम्भीर ध्यानाकर्षण भएको जनपरिषद्ले जनाएको छ । साथै जिल्लामा विभिन्न भूमाफिया गिरोहहरुले जनविरोधी गतिविधि सन्चालन गरिरहेकाले जनसत्ताद्वारा त्यसको सुक्ष्म अध्ययन तथा अनुसन्धान भएरहेको समेत प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । जनपरिषद् गाडेको उक्त झण्डा अहिले प्रहरीले हटाएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।