डाक्टर र भुक्तभोगी भन्छन्, ‘कोरोनालाई सामान्य नठानौं, अझैं धेरै सावधानी अपनाऔं’

प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’

नेपालगन्ज : ‘फलानोलाई कोरोना भयो । १४ दिन आइसोलेसन बस्यो । न औषधि खायो । न उपचार नै गर्नुप-यो । यो आफै निको हुने रहेछ । कोरोनासँग किन डराउनु ?’, टोलछिमेकमा कोरोना संक्रमणका बारेमा यसरी हल्का रुपमा चर्चा हुने गरेको छ । आइसोलेसनमा उपचार गराइरहेका संक्रमित र उपचारमा संलग्न चिकित्सक भने कोरोना सामान्य रोग मात्र नभएको अनुभव सुनाउँछन् ।
बाँकेको कोरोना ‘हट स्पट’ नरैनापुरदेखि जिल्लाका आइसोलेसन र क्वारेन्टाइनमा निर्धक्क पुग्ने गरेकी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ कोरोना संक्रमण भएर अहिले भेरी अस्पतालमा उपचार गराइरहेकी छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी आफै कोरोना परीक्षण गर्न भेरी अस्पतालको कोरोना प्रयोगशालामा पुगेकी थिइन् । ‘सुरुमा टाउको दुख्यो । त्यसपछि खानाको स्वाद नै हरायो । रुघाखोकी पनि लाग्न थालेपछि कोरोना आशंकमा परीक्षण गराउन गएकी हुँ’, उनले अनुभव सुनाइन्, ‘आफूलाई नहुँदासम्म समस्या थाहा हुँदोरहेनछ । यो सामान्य रोग होइन । शरीर नै गलाउँदो रहेछ । संक्रमितलाई निकै ख्याल गर्नुपर्ने रहेछ ।’ सांसद नमूनाले अहिले पनि एन्टिबायोटिक औषधि सेवन गरिरहेकी छन् । उनको सुझाव छ, ‘संक्रमितलाई एक्लो भएको महसुस हुनदिनु हुँदैन । मनोबल कमजोर हुन दिनु भएन । रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुरामा पनि ध्यान दिनपर्छ ।’

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल पनि कोरोना संक्रमण सर्वसाधारणले बुझे जस्तो सामान्य नरहेको बताउँछन् । पूर्वखेलाडीसमेत रहेका रिजालले पनि लगातार ५ दिनसम्म औषधि सेवन गर्नु परेको थियो । ‘अत्यन्तै सावधानी अपनाउँदा पनि मलाई कसरी कोरोना स¥यो थाहा छैन । मेरो पत्नी र छोरालाई सरेन । भतिजोलाई सरेको छ । यसको सर्ने तरिकाबाट पनि म चकित छु’, रिजालले भने, ‘तपाईको रोगप्रतिरोधात्मक क्षमता ठीक छ भन्दैमा पनि हुने रहेनछ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका तपाईका परिवारका सदस्य, छिमेकीका बालबालिका, वृद्धबृद्धा पनि यो रोगको शिकार हुन सक्छन् । जसले लापरबाही गर्छ । उसलाई पनि गाह्रो हुन्छ । उसका कारण समाजमा कोरोना संक्रमणको सम्भावना रहन्छ ।’

नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजाल

कोरोना संक्रमण भइसकेपछि खानपान सुधार गर्ने, व्यायाम गर्ने कुरामा ख्याल गर्नेभन्दा रोग नै लाग्न नदिन दैनिक जीवनशैलीमा सुधार गर्न सके पनि कोरोनाबाट जोगिन सकिने उनी उपाय बताउँछन् । उनी भन्छन्, ‘हरेक दिन बिहानै योग, प्राणायाम वा व्यायाम गरौं । तातोपानी खाऔं । रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा सेवन गरौं । प्याकेटका तयारी खानाभन्दा आयुर्वेदजन्य खानेकुरामा जोड दियौं भने कोरोना संक्रमणसँग जुध्न सकिन्छ ।’

भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डे

 

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे ६५ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई बढी जोखिम भए पनि जन्मेदेखि एक सय वर्षको उमेर समूहका सबै व्यक्तिमा संक्रमणको खतरा भएको बताउँछन् । ‘मधुमेह, प्रेसर, दमलगायतका दीर्घरोगीलाई बढी खतरा हुन्छ । तर संक्रमणको अवस्था विश्लेषण गर्दा सबै उमेरका संक्रमित छन् । चिकित्सक पनि गम्भीर अवस्थामा पुगेका छन् । ज्यानै गएको छ’, उनको सुझाव छ, ‘हामी सबै खतराको सूचीमा छौं । अझैं बढी सर्तकता र सावधानी अपनाउन जरुरी छ ।’