बाँकेमा लक्षणसहितका संक्रमित साढे ५ प्रतिशत

नेपालगन्ज : बाँकेका साढे ५ प्रतिशत कोरोना संक्रमितमा लक्षण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लामा लक्षण देखिएका कोरोना संक्रमितको संख्या ३९ छ । जुन कूल संक्रमितको ५.६९ प्रतिशत हो । ‘लक्षण देखिएका संक्रमितमध्ये १० जना निको भएर घर फर्किसक्नु भएको छ’, श्रेष्ठले भने, ‘अरु संक्रमितलाई विभिन्न आइसोलेसन सेन्टरमा राखिएको छ । लक्षण देखिएका संक्रमितलाई भने खजुराको क्यान्सर अस्पतालको आइसोलेसन र भेरी अस्पतालमा राखिएको छ ।’
उपचारमा रहेका २९ संक्रमितमध्ये सामान्य लक्षण देखिएका १७ र मध्यम लक्षण देखिएका ११ जना रहेका छन् । जटिल खालका स्वास्थ्य समस्या भएका र शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका कोरोना संक्रमितको भने थर्ड लेभल कोरोना अस्पताल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार हुन्छ । जिल्लामा कूल संक्रमितको संख्या ६ सय ८५ छ । तीन सय ८५ पुरुष र ५० महिलासहित चार सय ३५ जना संक्रमित निको भइसकेका छन् । कोरोनाबाट ३ जनाको ज्यान गएको छ ।