कोरोना जितेकी सांसद नमूना भन्छिन्, ‘उच्च मनोबल र शुभेच्छुकको स्नेहले निको भएँ’

नेपालगन्ज : प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले कोरोना जितेकी छन् ।
बिहीबार भेरी अस्पतालको आइसोलेसनबाट डिस्चार्ज हुँदै गर्दा सांसद नमूनाले कोरोनालाई सामान्य रोग मात्र नमानेर स्वास्थ्य सुरक्षाका सबै विधि पालना गर्दा कोरोना सहजै जित्न सकिने बताइन् ।

उनले अनुभव सुनाइन्, ‘मेरो उच्च मनोबल थियो । स्वास्थ्यकर्मी र आफन्तको न्यानो स्नेह र हाइकेयर भयो । सुरक्षा र सावधानी अपनाउँदा कोरोनालाई सजिलै जित्न सक्छौं भन्ने मेरै जीवनमा पनि लागू भएको छ ।’ उनले आइसोलेसनमा उपचार गराइरहेका सबै संक्रमतिलाई नआत्तिएर उच्च मनोबलका साथ बस्न आग्रह गर्दै शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी थिइन् । त्यसै गरी आफ्नो उपचारमा रहेका चिकित्सक, नर्सिङ स्टाफलगायतका स्वास्थ्यकर्मीप्रति आभार प्रकट गर्दै आफूलाई जस्तै उपचार र व्यवहार सबै संक्रमितहरुसँग गर्न आग्रह पनि गरेकी थिइन् । उनले जटिल स्वास्थ्य समस्या भएका कोरोना संक्रमितलाई प्लाज्मा सहयोग गर्ने पनि बताइन् । ‘म पूर्ण रुपमा स्वस्थ भएपछि चिकित्सकसँग परामर्श लिएर प्लाज्मा थेरापीका लागि ब्लड डोनेशन गर्छु’, उनले प्रतिबद्धता जनाउँदै भनिन्, ‘हामीले प्लाज्मा दिँदा कुनै संक्रमितको जीवन रक्षा हुन्छ भने कोरोना निको भएका सबैले सहयोग गरौं । यो भन्दा ठूलो दान र पुण्यको अर्को काम हुँदैन ।’


नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, भेरी अस्पतालका विकास समितिका सदस्य धनराम ओली, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापा, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ, अस्पतालका नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, चिकित्सकहरु, नर्सिङ स्टाफहरुले खादा ओढाएर सांसद नमूनालाई विदाइ गरेका थिए । अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भए पनि सांसद नमूनाले सात दिन होम आइसोलेसनमा बस्नुपर्नेछ ।