खजुरामा प्रदेश ५ स्तरीय कृषि अनुसन्धान निर्देशनालय स्थापना


नेपालगन्ज: बाँकेको खजुरामा कृषि अनुसन्धान निर्देशनालय स्थापना भएको छ ।

यसअघि क्षेत्रिय कृषि अनुसन्धान केन्द्रलाई प्रदेश नम्वर ५ को कृषि अनुसन्धान निर्देशनालयको रुपमा श्रावण १ गते देखि स्तरोन्नती गरिएको हो । निर्देशनालयका निर्देशक जनमेजय त्रिपाठीका अनुसार मुलुकमा संघियता आए पस्चात नेपाल कृषि अनुसन्धान परिषदले सातवटै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना गर्ने नीति अनुरुप खजुरामा प्रदेश ५ को कृषि अनुसन्धान निर्देशनालय स्थापना गरेको हो । संघिय सरकार अन्तगर्त रहनेगरी निर्देशनालय स्थापना भएपछि कोषेबाली अनुसन्धान कार्यक्रम, राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रम र कफी अनुसन्धान कार्यक्रम यस निर्देशनालयको मातहतमा रहनेछन भने यसअघि क्षेत्रिय कृषि अनुसन्धान केन्द्र अन्तगर्त रहेका कुखुरा विकास फर्म, माटो प्रयोगशाला, बीउँ प्रयोगशाला, क्षेत्रीय कृषि तालिक केन्द्र लगायतका कार्यालयहरु प्रदेश सरकार मातहतमा गएका छन ।
निर्देशनालयमा बाख्रा, माछा, फलफुल, तरकारी लगायतको प्राविधिक सेवा उपलब्ध गराउनुका साथै धान, गहुँ, मकै, बाख्रा, तरकारी, फलफुल लगायत विभिन्न बालीको विषयगत विज्ञहरुले अनुसन्धान गर्ने निर्देशनालयका निर्देशक त्रिपाठीले जानकारी दिए ।