‘राजापुरमा रेडियो स्कूल कक्षा प्रभावकारी’

रेडियोबाट पढ्दै राजापुरका विद्यार्थी । फोटो सौजन्य : मीन अधिकारी

शक्ति परियार । राजापुर
कोरोनाका कारण विद्यालय बन्द भए पनि बर्दियामा रेडियो कार्यक्रम स्कुल कक्षा सन्चालन भइरहेको छ ।
नेपाल सुरक्षित विद्यालय परियोजनाले बर्दियाका स्थानीय तहहरुसँग समन्वयमा जिल्लाका विभिन्न एफएमबाट रेडियो कार्यक्रम स्कुल कक्षा प्रसारण गरेको हो ।
राजापुर नगरपालिका शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीले शैक्षिक सत्रसमेत प्रभावित भएको बेला रेडियोबाट सन्चालन गरेको स्कुल कक्षा प्रभावकारी बन्दै गएको र विद्यार्थीको सहभागिता बढ्दै गएको बताउनुभयो ।
कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गर्दै सुरु गरिएको रेडियो कार्यक्रमले भौराटप्पा क्षेत्रका २ पालिका (गेरुवा गाउँपालिका र राजापुर नगरपालिका) का ८७ निजी तथा सामुदायीक विद्यालयका विद्यार्थीहरु लाभान्वित बनेको प्रमुख चौधरीले दाबी गरे । ‘रेडियो कार्यक्रम नियमित सुन्न आफ्ना नानीबाबुहरुलाई सुझाउने गरेको छु’, राजापुर–३ का रामप्रसाद चौधरीले भने, ‘रेडियोको माध्यमबाट भए पनि बच्चाहरुले पाठ्यपुस्तकको पूनरावृत्ति पाएका छन् ।’ रेडियो कक्षाबाट विद्यार्थीले घरमै बसिबसि लाभ लिएका छन् । राजापुर–३ जानकी प्रावि मुरैयाका बालिका संयुक्त रुपमा पढिरहेका छन् ।
विद्यार्थीहरुले कार्यक्रममा सुधार गर्न पनि माग गरेका छन् । भेरी मावि ललितापुरका छात्र संगिता परियार स्थानीय रेडियोबाट कार्यक्रम उत्पादन गर्नुपर्ने सुझाव दिन्छिन् । लाइट एकेडमी इमि विद्यालयका कक्षा ९ का छात्र निगम कोइराला अंग्रजी माध्यमबाट पनि अध्यापन गर्नुपर्नेमा जोड दिन्छन् ।

रेडियोबाट पढ्दै राजापुरका विद्यार्थी । फोटो सौजन्य : मीन अधिकारी