खजुरालाई स्वास्थ्य हबको रुपमा विकास गरिँदै

नेपालगन्ज : खजुरा गाउँपालिकालाई स्वास्थ्य हबको रुपमा विकास गरिने भएको छ । पालिकाका सबै वडामा स्वास्थ्य सेवा विस्तार भइसकेकोले स्वास्थ्य हबको रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा कार्यक्रममा कक्षपतीले गाउँपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र क्यान्सर अस्पताल समेत रहेको बताउँदै आधारभुत स्वास्थ्य सेवालाई जनमैत्री बनाउँदै लगिने बताए ।
उनले वडामा भएका स्वास्थ्य संस्थाको स्तरोन्नती गर्दै लैजाने बताउँदै गाउँपालिकाको वडा नम्वर ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ वेडको अस्पतालका रुपमा विकास गर्न बजेट विनियोजन भएको जानकारी दिए । ‘अस्पताल विस्तारका लागि आ.व. २०७७/०७८ को बजेटमा साढे ५ करोड बजेट बिनियोजन भई भवन डिभिजनमा आइसकेको छ’ उनले भने ‘अब टेण्डरको प्रक्रिया अगाडि बढ्छ ।’ स्वास्थ्य सेवालाई सहज बनाउन सामाजिक सुरक्षा भत्तामा सहभागी जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर हरेक वर्षजस्तो निःशुल्क विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको कक्षपतिको भनाई छ ।
कार्यक्रममा गाउँपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुको तथ्यांक प्रमाणिकरणसहित प्रस्तुतीकरण र समस्याहरुको पहिचान, स्वास्थ्य सेवा प्रदान गर्दा आइपरेका समस्याहरुको पहिचान गरी निराकरणका उपायहरु पत्ता लगाउने र अगामी योजना तयार गर्ने उद्देश्यका साथ समीक्षा गरिएको हो । खजुरा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समीक्षा कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. १ देखि वडा नं. ८ सम्मका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुले वर्षभरी गरेका कार्यप्रगतिको समीक्षात्मक तथ्यांक सम्बन्धित स्वास्थ्य केन्द्रका प्रमुखहरुले प्रस्तुत गरे ।
कार्यक्रममा उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहलगायतले यसरी गरिने समीक्षाले सेवा सुधारमा टेवा पुग्ने बताए । कार्यक्रममा वडाध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, खजुरा क्षेत्रका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।