कोभिड बिशेष अस्पताल निर्माणमा संघको साढे ५ लाख सहयोग
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले भेरी अस्पतालमा कोभिड बिशेष अस्पताल निर्माणका लागि साढे ५ लाख रुपैया सहयोग गरेको छ ।
मंगलबार संघको कार्यालयमा आयोजित रकम हस्तान्त्रण कार्यक्रममा अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोभिड बिशेष अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवलाई ५ लाख ५१ हजारको चेक हस्तान्त्रण गरे । रकम हस्तान्त्रण गर्दै अध्यक्ष मन्सुरीले संघले सामाजिक उत्तरदायित्व बहन गर्दै आर्थिक सहयोग गरेको बताए । कोरोना महामारीको समयमा नीजिक्षेत्रले महत्वपुर्ण भुमिका खेलेको भन्दै अध्यक्ष मन्सुरीले आगामी दिनमा पनि सहयोग अभियान जारी रहने जानकारी दिए।
भेरी अस्पतालमा कोरोना विशेष अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेकोमा कोभिड बिशेष अस्पतालका प्रमुख डा. श्यामसुन्दर यावदले धन्यवाद दिएका छन् । उनले प्राप्त आर्थिक सहयोगको सही सदुपयोग हुनेमा ढुक्क रहन आग्रह गरे ।
सहयोग हस्तान्त्रण कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले संकट समाधानमा निजीक्षेत्रकातर्फबाट महत्वपूर्ण भूमिका निभाएको भन्दै प्रशंसा गरे ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार कोभिड बिशेष अस्पताल सहित यसअघि पनि संघले बिभिन्न क्षेत्रमा आर्थिक एवं स्वास्थ्य सामाग्रीको सहयोग गरेको छ ।
रकम हस्तान्तरण कार्यक्रममा बाँकेमा प्रहरी प्रमुख ओम राना, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, संघका पदाधिकारी, एशोसिएसट सदस्य एवं कार्यसमिति सदस्यको सहभागिता रहेको थियो ।