बाल विवाह रोक्न बाँकेमा प्रहरी, प्रशासन र जनप्रतिनिधिको प्रतिबद्धता (फोटो फिचर)

नेपालगन्ज : बाँकेको प्रहरी, प्रशासन र स्थानीय तहका जनप्रतिनिधिहरुले बाल विवाह रोकथाम गर्न प्रतिबद्धता जनाएका छन् ।
बाल विवाहविरुद्ध संगठित किशोरी क्लब सञ्जाल बाँकेले जिल्लाका ८ वटै स्थानीय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा र उप–प्रमुख उमा थापा मगर, कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत, खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरी, जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादव, नरैनापुर गाउँपालिका प्रमुख इस्तियाक अहमद शाह, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल र बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानालाई किशोरी क्लबका पदाधिकारीले ध्यानाकर्षण गराएका थिए ।

किशोरी सञ्जालले जिल्लाका ८ वटै स्थानीय तहको गाउँ टोलमा पुगेर गरेको खोजबाट लकडाउनको अवधिमा मात्र ७ स्थानीय तहमा ६९ जनाको बालविवाह भएको पाएको सञ्जालकी जिल्ला सचिव चेतना क्षेत्रीले बताइन् । कोरोनाको डरले सबै नागरिक घरमै बसिरहेको बेला बाल विवाह बढेको भन्दै राष्ट्रिय बाल दिवसको अवसरमा किशोरीहरुले जनप्रतिनिधिहरुलाई ११ बुँदे र प्रहरी प्रशासनलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।