सार्वजनिक सवारी साधनमा लैङ्गिक हिंसा र यौनजन्य दुव्र्यवहार
पूजा वर्मा
एक वर्ष अघि माघको दोस्रो साता नेपालगन्ज सहरको त्रिवेणी मोडबाट अटो रिक्सा चढेर झिस्मिसे साँझमा म फुल्टेक्रास्थित घर जाँदै थिए । अटोमा भोजपुरी गीत घन्किरहेको थियो । अटो चालक ऐनामा पटक पटक मलाई हेर्दै कपाल मिलाउँथ्यो । उसले अटोको गति बढाउँदै गयो । उसले धेरै बेरसम्म मलाई शिशामा हिंसात्मक नजरले हेरिरह्यो । अध्याँरो बढ्दै थियो । मेरो मनमा आज त घर पुगिन्न कि भन्ने डर सुरु भइसकेको थियो । घर पुगेपछि भाडा लिने बाहानामा उसले मेरो हात समात्यो । पैसा बुझाएर म हतार–हतार गेट खोलेर घरभित्र पसें । मैले जीवनमा पहिलो पटक सवारी साधनमा पुरुषको गिद्दे दृष्टिको सामना गर्नु परेको थियो । अझैं पनि साँझको समयमा रिक्सा चढेर घर जाँदा त्यो दिनको त्रासमय झझल्को आइरहन्छ र म सधैं सतर्क हुने गर्छु । यो घटनाले मलाई सार्वजनिक सवारीमा यात्रा गर्दा चनाखो पनि बनाएको छ ।
यो लेखमा मैले हिंसाको सामना गरेको आफ्नो अनुभव पस्कने जमर्को मात्र गरेकी होइन, सार्वजनिक सवारीमा यात्रा गर्दा कसरी किशोरी र महिलामाथि दुव्र्यवहार हुँदोरहेछ भन्ने कुराको सानो उदाहरण प्रस्तुत गरेकी हुँ । यस विषयमा साथीसंगी र अग्रज महिलाहरुको अनुभव सुन्दा त झन आङ नै सिरिङ हुन्छ । कतिले त भरिभराउ बसमा यात्रा गर्दा शरीरका संवेदनशील अंग नै छुने गरेको अनुभव सुनाएका छन् । कति महिलाले त तत्कालै प्रतिवाद पनि गरेको बताएका छन् । कति त्यस्ता व्यवहारबाट आफै तर्किने बताउँछन् । पुरुषले यात्रामै चिमोठेर पनि दुःख दिएको कतिको अनुभव छ । महिलालाई पछाडिबाट धकेल्ने र सामान्य ब्रेक लगाउँदा पनि महिलामाथि ढेस्सिने समस्या पनि उत्तिकै हुने गरेका छन् । म्याजिकमा बसेर आउँदा पुरुष निँदाएको बाहानामा शरीरमै ढलिदिन्छन् । अनुहार हेदा आफूभन्दा पाको उमेरका पुरुषहरुले गरेका यस्ता क्रियाकलाप सुरुमा अन्जानमै भए जस्तो लाग्छ । पटक–पटक त्यही व्यवहार दोहोरिँदा भने नियत नै खराब भएको सहजै महसुस गर्न सकिन्छ ।
बाँके जिल्लामा बाल क्लब र किशोरी क्लबमा आबद्धहरुसँग अन्तरक्रिया गर्दा उनीहरुले सार्वजनिक यातायात र रिक्सामा आफूहरु असुरक्षित भएको बताएका छन् । उनीहरुले सार्वजनिक यातायातमा विभिन्न खालको हिंसामा पर्दै आएको अनुभव पनि सुनाएका छन् । अधिकारकै क्षेत्रमा क्रियाशीलहरु पनि अधिकारको रक्षा गर्न सकिरहेका छैनन् ।
हिंसाको प्रतिवाद नगर्ने हो भने हामीले नै हिंसालाई प्रश्रय दिएको हुनजान्छ । जब हामी आत्मबल कमजोर बनाएर घटनालाई दबाएर राख्छौं । त्यही नै हाम्रा लागि समस्या हुन्छ । त्यही पीडा बनेर पटक–पटक बल्झिरहन्छ । अनि हामीमा हिंसा सहने र पीडा भोग्ने निरिह बाध्यकारी मनोरोगको बानी पर्छ । त्यसैले सार्वजनिक यातायातमा यात्रा गर्दा आफूलाई असज लाग्ने पुरुषका व्यवहारको तत्कालै प्रतिकार गर्न थालौं । तपाईको शरीरमा तपाईको मात्र अधिकार हुन्छ । सुरुमा आफूलाई एक्लो महसुस हुनसक्छ । जब तपाई प्रतिकारमा उत्रिनु हुन्छ । सवारी साधनमा भएका सबै यात्रीहरु तपाईंकै न्यायका लागि आवाज बुलन्द गर्छन् । सुरक्षाकर्मी पनि तपाईंकै पक्षमा हुन्छन् । हिंसाविरुद्ध समयमै आवाज बुलन्द गरौं । हामीले तत्कालै नेपाल प्रहरीको निःशुल्क हटलाइन १०० मा डायल गरेर हिंसाबारे जानकारी गराउन सक्छौं । बाल हेल्पलाइनको १०९८ मा फोन गर्दा पनि पैंसा लाग्दैन । त्यसैगरी महिला आयोगको ११४५ र राष्ट्रिय मानव अधिकार आयोगको ०१५०१०००० मा पनि निःशुल्क फोन गरेर हिंसाबारे जानकारी दिएर न्याय माग्न सक्छौं । सार्वजनिक यातायात, साधन र कार्यस्थलमा हुने यौन दुव्र्यवहारको खबर गर्नका लागि लैङ्गि हिंसा हुँदा उद्दार र आवश्यक सहयोगका लागि नेपाल प्रहरीको लैङ्गिक हिंसाविरुद्धको प्रहरी शाखाको ९८५१२८९१११ मा पनि सम्पर्क गर्न सक्छौं । त्यसैले तपाई एक्लै हुनुहुन्न । अधिकार रक्षाका लागि तपाईको एक मात्र सूचना पनि तपाईको न्यायका लागि सहयोगी हुनसक्छ । तपाई जोगिनु भनेको अर्को कुनै बालिका, किशोरी वा महिला फेरि हिंसाको शिकार हुनबाट जोगिनु पनि हो । त्यसैले हिंसाविरुद्ध बोलौं । चुप लागेर नबसौं ।