भेरी अस्पतालका लेखा अधिकृतसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगन्जका लेखा अधिकृतसहित ४ जना कर्मचारी र ११ वटा फर्म विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अख्तियारले अस्पतालमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित स्रोत नखुलेको रकम सहित नियन्त्रण गरेको थियो ।
अनुसन्धानपछि अस्पतालका लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अपरेटर अरूणराज खनाल, लेखापाल इन्द्रबहादुर खत्री र सहलेखापाल प्रेमबहादुर खत्रीसमेतको योजना र मिलेमतोमा आर्थिक वर्ष ०७६/०७७ मा सेवा प्रदायक फर्म तथा पसलहरूबाट १९ लाख १३ हजार ७० रुपैयाँ बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।
त्यसैगरी नेपालगन्जका विभिन्न फर्महरु क्रमशः नेपाल स्टोर, लुम्बिनी स्टेशनरी, कमला इन्टरनेशनल तथा कृष्णा इन्टरनेशनल, हनुमन्त स्टेशनरी एण्ड सप्लायर्स, रोशनी स्टिल फर्निचर उद्योग नेपालगन्ज, रुबि इलेक्ट्रिकल सप्लायर्स, अम्बे फर्निसिङ गार्डेन, न्यू निजाम स्टोर, ओसियन इन्टरनेशनल तथा पश्चिमाञ्चल डिस्ट्रिव्युटर, रिजाल इन्फोसिस खजुरा लगायतलाई घुस उपलब्ध गराएको भन्दै मुद्दा दायर गरिएको छ । फर्महरुले कम्तीमा २० हजार रुपैंयाँदेखि एक लाख ६१ हजार रुपैयाँसम्म घुस दिएको आरोप पत्रमा उल्लेख छ ।