मेरो खुसीमा वर्मा र रावत एकदिने सम्पादक बनेपछि …
नेपालगन्ज : ‘बलात्कारी बाबु रहेछन्, पीडित बालिकाको समाचारमा नाम लेख्नु हुँदैन । समाचारले पीडितलाई झन पीडा हुन्छ’, समाचार सम्पादन गर्दै पूजा वर्मा भन्दै थिइन्, ‘बाबु वाहेकका व्यक्ति बलात्कारी हुँदा भने पीडकको नाम मिडियामा प्रकाशित गर्न सकिन्छ ।’
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालले आयोजना गरेको डिजिटल टेकओभर कार्यक्रम अन्तर्गत वर्मा एकदिनका लागि मेरो खुसी डट कमको सम्पादक बनेकी हुन् । उनी नेपालगन्ज नगर किशोर सञ्जालकी अध्यक्ष हुन् । सम्पादन गर्दा उनले समाचारमा उल्लेख गरिएको बलात्कारी बाबु र पीडित छोरीको नाम हटाइन् । बालिकाको स्पष्ट पहिचान खुल्ने गाउँ टोलको ठेगाना पनि राख्न दिइनन् ।
‘बाल विवाह गरेकी बालिकाको पहिचान खोलेर समाचार लेख्न मिल्दैन’, मनिका रावतले तर्क गरिन्, ‘बालिकाको फोटो पनि हामी प्रयोग गर्न सक्दैनौं । गर्नै परेमा आँखामा पट्टी लगाउनुपर्छ ।’ जिल्ला बाल क्लब सञ्जाल बाँकेकी अध्यक्ष रावत पनि मेरो खुसीको एक दिनकी सम्पादक बनेकी थिइन् । उनले बाल विवाह सम्बन्धी समाचार विश्लेषणको सम्पादन गरिन् । कहिले काँही लेख मात्र लेख्ने गरेको बताउने रावतले आफै सम्पादक हुँदाको अनुभव सुनाइन्, ‘राम्रो समाचार प्रकाशित भएर आउन धेरै प्रक्रिया पूरा हुँदो रहेछ । सम्पादकको समाजप्रति धेरै जिम्मेवारी र दायित्व हुँदो रहेछ । एक दिनका लागि त्यो भूमिका निर्वाह गर्न पाउँदा खुसी छु ।’
पूजालाई त पत्रकारिता क्षेत्रमै लाग्ने रहर पलाएको छ । भन्छिन्, ‘चार दिनको अनलाइन तालिम लिएकी थिए । समाचार सम्पादनको नौलो अनुभव भएको छ । आगामी दिनमा पत्रकारिता क्षेत्रमा लाग्न सहजता हुने ठानेकी छु ।’
सिविन नेपालगन्जका क्षेत्रीय संयोजक सिद्धराज पनेरुको व्यवस्थापनमा मेरो खुसीको कार्यालयमा आएका किशोरीहरुलाई समाचार लेखन, सम्पादन, अनलाइनमा समाचार/फोटो प्रकाशन र अनलाइन समाचारलाई सामाजिक सञ्जालमार्फत गरिने मार्केटिङ विधिबारे जानकारी गराइएको थियो । उनीहरुले अनलाइनका लागि आफूले लेखेको लेख कसरी सम्पादन हुँदो रहेछ भन्ने प्रत्यक्ष अनुभव गरेका थिए ।