बाँकेको बैजनाथका किशोरीले रोके १८ बालविवाह

बाँकेको बैजनाथ गाउँपालिकाको एकता किशोरी क्लबका पदाधिकारी र सदस्य । फोटो : मेरो खुसी

चिसापानी (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकाको एकता किशोरी क्लबले १८ वटा बाल विवाह रोकेको छ ।
क्लबकी अध्यक्ष अनु रावतका अनुसार दुई वर्षको अवधिमा १८ बाल विवाह रोकेको हो । अघिल्लो वर्ष ११ वटा र यो वर्ष ७ वटा बाल विवाह रोकेको क्लबले जनाएको छ ।

स्याक बाँकेकी उपाध्यक्ष सरस्वती बुढा

यो वर्ष रोकिएका सबै बाल विवाह लकडाउन यताको रहेको अध्यक्ष रावतले बताइन् । लकडाउनको बेलामा मात्र बैजनाथको वडा नं. १ बाट ४ वटा, २ ३ र ५ नम्बर वडामा एक एक वटा बाल विवाह क्लबले रोकेको हो । क्लबका पदाधिकारी र सदस्यलाई दुई दिने सञ्चार सीप तालिमको सोमबार समापन कार्यक्रममा अध्यक्ष राउतले भनिन्, ‘इलाका प्रहरी कार्यालय चिसापानी, बैजनाथ गाउँपालिका वडा कार्यालय, स्याक बाँके, युनेस्को बाँकेको सहयोगमा हामीले बाल विवाह रोक्न सफल भएका हौं ।’

स्याक सहजकर्ता बविता सिंह

समापन कार्यक्रममा स्याक बाँकेकी उपाध्यक्ष सरस्वती बुढाले बाल विवाह न्यूनिकरणका लागि किशोरी क्लबको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले भनिन्, ‘उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ भनेर कशोरी क्लबका सदस्यले गाउँगाउँमा सन्देश दिनुपर्छ । आफै २० वर्ष नपुगेर बिहे नगर्नु होला ।’
स्याक सहजकर्ता बविता सिंहले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीसँग आग्रह गरेकी थिइन् । क्लबकी सदस्य जुना सुनारले तालिमबाट बाल विवाह न्यूनिकरणका लागि प्रभावकारी सञ्चार विधि सिकेको बताइन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेले तालिम दिएको हो । तालिममा किशोरीले सञ्चार, सञ्चार प्रक्रिया, किशोरीले सार्वजनिक गर्नुपर्ने सूचना, किशोरी क्लबको सार्वजनिक सञ्चार, सञ्चार गर्ने विधि, सरोकारवाला, सरोकारवालासँग सञ्चार विधि, विज्ञप्ती लेखनलगायतका विषयमा सैद्धान्तिक जानकारी र व्यवहारिक अभ्यास गरेका थिए । अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनालले सहजीकरण गरेका थिए । तालिममा एकता किशोरी क्लबका पदाधिकारी र सदस्य गरी १४ जनाको सहभागिता रहेको थियो ।