बादी समुदायको मादल व्यवसाय संकटमा

मानबहादुर ठकुल्ला । टीकापुर
‘मादलको व्यापार सबैभन्दा बढी दशैँ र तिहारमा हुन्थ्यो । यो वर्ष त खासै कारोबार नै हुन सकेन । बनाएका मादल पनि थन्किएका छन्’, कैलालीको टीकापुरका नरेश बादीले दुःखेसो पोखे, ‘गीत संगीत क्षेत्रका आधुनिक उपकरणको प्रयोगसँगै मादल बजाउने घटेका छन् । त्यसमाथि कोरोनाले ग्राहक घटेपछि मादल बनाउने पेशा नै लोप हुँदै गएको छ ।’ बादी समुदायको पुख्र्यौली पेशामध्ये मादल बनाएर बेच्ने पनि हो । यही पेशाबाट कतिको जीविका चल्थ्यो । कोरोनाले व्यवसायीले मादल बेच्न पाएका छैनन् । टीकापुरका बादी समुदायका व्यक्तिहरु मादल बनाउने पेशा पछिल्लो समय सङ्कटमा परेको बताउँछन् । उनीहरुको परिवारमा कोरोना महामारीले आर्थिक सङ्कट नै निम्त्याएको छ ।
दशैं तिहार अघि मादल बनाउन भ्याइनभ्याई हुने बादी समुदायका नागरिक यतिबेला भने फुर्सदमै देखिन्छन् । विगतका वर्षजस्तो यसपालिको तिहारमा खासै काम नआएको टीकापुर नगरपालिका–८ बिष्णुकान्तिपुरका सुरज बादीको भनाइ छ । ‘दशैँतिहारमा रातदिन मादल बनाउनु पथ्र्यो । यस वर्ष कामै छैन’, सुरजले यर्थाथता दर्शाए, ‘यही सिजनमा मैले कमाएको रकमले घर चल्थ्यो । यस वर्ष त दशैँलाई लक्षित गरी तयार गरिएका मादल पनि थन्किएका छन् ।’
टीकापुर–८ सत्तीका बादीले पुख्र्यौली पेशा संरक्षणका लागि मादल व्यवसाय सञ्चालक समिति नै गठन गरेका छन् । समितिले मादल बनाउने र बेच्ने गर्छ । मादलका ग्राहकमध्ये थारु समुदाय पनि एक हुन । दशैं सुरु भएदेखि तिहार नसकिँदासम्म थारु समुदायमा निरन्तर नाच हुन्थ्यो । कोरोनाका कारण थारु बस्तीमा दशैँ र तिहारमा नाच हुन सकेन ।
‘थारू समुदायको नाचगानका कारण मादलको कारोवार ठीकै हुन्थ्यो तर यसपालि भने कोरोनाका कारण थारूगाउँमा पनि खासै दशैँको रौनकता भएन’, समितिका अध्यक्ष सुरज बादी भन्छन्, ‘थारूगाउँमा नाचगान नहुँदा मादलको व्यापार भएन र तिहारमा देउसीभैलो खेल्नेले मादल किन्थे । यस वर्ष तिहारमा पनि बिक्री भएका छैनन् ।’
सुरजका अनुसार ८० हजार खर्च गरी बनाइएका मादल थन्किएका बताउँछन् । “यस वर्ष साढे दुई लाखसम्म कमाउने समितिको योजना थियो”, सुरजले भने, ‘कोरोना महामारीका कारण हाम्रो त लगानी पनि उठ्न सकेन ।’ बढ्दो आधुनिकतासँगै बादी समुदायको पुख्र्यौली पेशाको रूपमा रहेका सुल्फा , मादल र जाल बनाउने पेशासमेत लोप हुँदै गएका छन् ।
दशै तिहारमा १ लाख बराबरको मादल बिक्रीबाट कारोबार हुन्थ्यो तर यसपालि २० हजारको मात्रै मादल कारोबार भएको उन िबताउछन् । मानिसहरु आधुनिक बाजामा रमाउन थालेसँगै बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा पर्न थालेको बादी समुदायका अगुवा अर्जुन बादीको बुझाइ छ । ‘पुख्र्यौली पेशा संरक्षण गर्नुपर्छ’, अर्जुनले भने, ‘तर आधुनिक बाजाले परम्परागत बाजालाई विस्थापन गर्ने देखिएको छ । यसको संरक्षणमा स्थानीय सरकारले सघाउन आवश्यक छ ।’ उनी बादी समुदायको पुख्र्यौली पेशालाई नेपाली संस्कृतिको पहिचानका रूपमा जोगाउन जोड दिन्छन् । पछिल्लो समय नेपाली संस्कृतिमा मादलको साटो अन्य बाजा प्रयोग हुँदै आएका छन् तर पनि नेपाली संस्कृतिमा मादलको पहिचान र महत्व छुट्टै भएकाले मादलको संरक्षणमा जोड दिनुपर्ने खप्तड सांस्कृतिक परिवार टीकापुरका पूर्वअध्यक्ष तथा कलाप्रेमी नवराज रिमालले जोड दिए । ‘मादल हाम्रो पहिचानसँग जोडिएको छ’, रिमाल भन्छन्, ‘नेपाली संस्कृतिसँग मादलको सम्बन्ध गाँसिएको छ । यसको संरक्षण आवश्यक छ ।