बेपत्ता पतिको पर्खाइमा बितेका १७ वर्ष

लेखक : चन्द्रकला उप्रेती

चन्द्रकला उप्रेती
‘१२ वर्षमा खोला फर्किन्छ’ भन्ने नेपाली उखान छ । खोला अवश्य फर्किन्छ होला तर १७ वर्षसम्म पनि मेरो श्रीमान् फर्किनु भएन । विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा भइसक्यो तर कहाँ छ हामीलाई शान्ति ? शान्ति सम्झौता अन्तर्गत १२ बुँदेमा उल्लेखित बेपत्ता सार्वजनिक गर्ने ६० दिन कहिले आउँछ त ? अहिले दुई तिहाइको सरकारले के गर्दैछ ? म जस्तै बेपत्ता परिवारसँग यस्तै धेरै प्रश्न छन् तर यी प्रश्नको जवाफ कसले दिने हो ? सरकारी कार्यालयमा जाँदा म जस्ता बेपत्ता पारिएका श्रीमतिहरुलाई परिचय खोज्छ, मृत्यु दर्ता खोज्छ, जुनसुकै कामले विभिन्न कार्यालयमा जानुअघि म जस्ता श्रीमतिहरुलाई थप पीडै पीडाले सताउन थाल्छ । श्रीमान् खै ? के भएको ? किन लगेको भन्ने प्रश्नको जवाफ पटक पटक दिइरहनु पर्छ । मलगायतका परिवारले जे भएको सत्य मात्र जान्न चाहेको, लास की सास । अहिले पनि २४ घण्टा त्रास र पीडै पीडामा छौं हामी । मजस्ता वेपत्ता पीडित परिवारको के दोष थियो र हामीले न्याय कहिले पाउने ? प्रष्ट जवाफ पाउन पाए पनि हुन्थ्यो ।
महिला हिंसाको १६ दिने अभियान राज्यले नै गरिरहेको समयमा हामीलाई पीडा दिने त राज्य नै हो । जबसम्म द्वन्द्वको यौनजन्य हिंसा पीडित महिलालाई सम्बोधन गर्न सक्दैन आज सरकार पानीमाथिको ओभानो बनेर केही हुँदैन । महिला हिंसा न्यूनिकरणका नाममा जति कार्यक्रम गरे पनि महिला हिंसा कम भएको हामीले महसुस गरेका छैनौं । हामीले कस्तो पीडा भोगिरहेका छौं, जहाँ जाऔं, घरमा बस्दा न बाहिर हिंड्दा, कति हिंसा भोग्न बाध्य छौं कसले दिन्छ ध्यान ? अहिले १६ दिन महिला हिंसाको कार्यक्रम गर्नु अघि राज्यले हामीहरुलाई सम्मान दिनुपर्छ, त्यो पीडालाई कम गर्न राज्यले छिटो भन्दा छिटो एउटा कानुन बनाई यसलाई पीडाको प्रकृति हेरी सत्य, न्याय र परिपुरणको ब्यवस्था गर्नु पर्छ अनि १६ दिने मात्र हैन सदावहार नै यस्ता कार्यक्रम गर्नुपर्छ ।

सेनाबाट बेपत्ता पारिएका भुपेन्द्र उप्रेती

जब मंसिर महिनाको सुरुवात हुन्छ । यो मनमा छुट्टै किसिमको छटपटी महसुस हुनथाल्छ । २०६० साल मंसिर २३ गते आजकै दिन साँझ ६ बजेको समय थियो । तत्कालिन शाही नेपाली सेनाले आफ्नै पसल अगाडिबाट मेरो श्रीमान भुपेन्द्र उप्रेतीलाई सोधपुछका लागि भन्दै आफ्नो कव्जामा लियो । नेपालगन्जको धम्बोझी चोकमा लगेर एक डेढ घण्टा त्यहि राख्यो । उहाँसँगै सुर्खेत रोडमा घर भएको सुनील क्षेत्रीलाई पनि सँगै लग्यो । मेरो श्रीमान्को १८२३ नं को मोटरसाइकलसमेत सेनाले आफैले चलाएर सडकमा हाम्रो मान्छे राँझा व्यारेक पृतना हेडक्वाटरमा लग्यो । सुनील र मेरो श्रीमानसँगै राखिएको ३ दिनपछि मेरो श्रीमानलाई छुटाएर कहाँ लगीयो ? सुनील क्षेत्री भने १७ दिनपछि घर फर्किएपछि सबै जानकारी उहाँले दिनुभयो । धम्बोझीबाट आँखामा कालो पट्टी बाँधेर लेको देख्ने धम्बोझी चोकका मानिसहरुले मलाई पहिला पहिला त मैले देखेको भन्ने धरै थिए । तर अहिले ती ब्यक्ति कोहीको मृत्यु भयो, कोही कता गए । केही ब्यक्तिले भन्ने गर्नुहुन्छ कि अब भनेर के गर्ने तपाईको श्रीमान् आउनु हुन्न जस्ता कुरा गर्नुहुन्छ । तर सँगै गएका ब्यक्ति हुँदै बयान कसले लिने त ? सबैलाई थाहा छ मेरो श्रीमान्लाई शाही सेनाले यति लामो समयसम्म बेपत्ता पारेको, सेनाले किन यसरी थप पीडा दिएको भनेर धेरै ब्यक्तिहरुले भन्नु हुन्छ । अब आममानिस आत्तिसक्नु भयो भने म र मेरो परिवार कसरी धैर्य गरेर बसेका छौं कसले गर्न सक्छ मुल्यांकन ?
अहिले आउने, भरे आउने, भोलि आउने भन्दै आशैआश गरेको १७ वर्ष भयो तर राज्यको हेर्ने आँखा, सुन्ने कानलाई के गरेर राखेको छ ? के हामीले आफ्नो आफन्त जे भए पनि जस्तो भए पनि सत्य कुरा भनिदेउ सरकार भनेका छौं । हामीलाई नेताहरुको जस्तो ठूलो महल, गाडी, करोडौं पैसा भनेका छैनौं तर हाम्रो आफन्त कहाँ छन् ? सत्य जान्न पाउने हाम्रो अधिकार हो या हैन यति मात्र जवाफ देउ सरकार । मलाई मेरो परिवारलाई आयोग बन्छ, कानुन छैन भन्दै विभिन्न बहाना गरेर पहिलाको आयोगको चार वर्ष खतम पा¥यो । अहिले फेरी त्यही, त्यस्तै दोहरिएको छ । हाम्रा लागि काम गर्न आउने ब्यक्ति वा संघ संस्थाहरुले अलिकति भने पनि धर्म सम्झेर आउनु, पैसा मात्र कमाउने उद्देश्यले यस आयोगमा प्रवेश नगर्नु नै राम्रो । यदि प्रवेश झुकिएर भएको भए फेरी एकान्तमा बसेर सोंच्नुस, ध्यान गर्नुस पीडितहरुको आँसु बग्न नदिनुस, केही न केही काम गर्नुस् भन्ने हाम्रो आग्रह छ । तर अब कहिले काम गर्ने ? पुसको २५ गते समय सकिदैछ त । अनि बल्ल जिल्ला जिल्लाको भ्रमण गर्दै हिंडनु भएको त छैन ?
हामीलाई गाह्रो भएको छ । वार कि पार कहिले भएर बस्न पाइएला, कसरी यो पीडाबाट मुक्ति पाइएला भन्ने भगवानसँग दिनरात यहि प्राथना गर्छु । राज्यले हामीलाई अहिलेसम्म मजाकमा उडाइरहेको छ । बेपत्ता परिएका ब्यक्तिहरुको परिवारलाई एक मिनेट मात्र आफ्नो आफन्तहरुलाई बेपत्ता पारेर हेर्नु त ? सदा दिन जस्तै मेरो जस्तो पीडा तपाईहरु जो सुकैले भेगेर बस्नु पर्दा थाहा हुन्थ्यो । सरकारले आफैले पटक पटक चिलले चल्लो टिप्दा झैं टिपेर लग्ने र बेपत्ता पार्ने अनि परिवारहरुलाई पीडामाथि पीडा दिने । श्रीमान्को नाममा भएको पसलको फर्मको या गौरी विनायक टे«डर्स मलाई के थाहा जब जो सम्बन्धित ब्यक्ति नै नभएपछि त्यो पसल बन्द भयो । तर आज कर कार्यालय र बणिज्य कार्यालयले फर्म बन्द नभएको भन्दै पैसा तिर्नुपर्ने भन्छ र कहाँबाट ल्याएर मैले त्यति धेरै पैसा तिर्न सकिन्छ, यस्तै यस्तै थप पीडा दिँदैछ राज्यले । त्यो सबै राज्यको ढुकुटीमा जाने हैन र ? यस्तै खाले कति पीडा दिनरात भोग्नु परेको छ मैले । मेरो श्रीमान्लाई राज्यले वेपत्ता पनि पार्ने पीडा पनि दिने । श्रीमान् बेपत्ता भएदेखि प्रत्येक वर्ष केही न केही श्रीमान्को सम्झनामा कार्यक्रम गरिराखेकी छु । मेरो श्रीमान्लगायत बेपत्ता पारिएका सबैको सम्झनामा कहिले परेवा उडाउने, कहिले द्वीप प्रज्ज्वलन गर्ने, कहिले बृद्ध आश्रमका बृद्धहरुलाई फलफूल वितरण गर्ने र कहिले पूजा गर्दै आएकी छु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *