बाँके र बर्दियामा रुख खेतीतर्फ कृषकको आकर्षण

नेपालगन्ज: पछिल्लो समय बाँके र बर्दियाका कृषक रुख खेतीतर्फ आकर्षित भएका छन । परम्परागत खेती भन्दा काठजन्य रुखबाट कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका कृषक कृषि बनतर्फ आकर्षित भएका हुन । डिभिजन वन कार्यालय बाँकेका अनुसार बाँकेमा १ सय २४ वटा निजी वन दर्ता भएका छन् । उता बर्दियामा २ सय ५० हेक्टरमा १ सय ५ वटा नीजि बन दर्ता भएर रुख खेती गरीएको छ । दर्ता नभएर रुख खेती गर्ने कृषकको संख्या १० औ गुणा बढी भएको बन कार्यालयको अनुमान छ । सवै बनहरु दर्ता प्रकृयामा आउने वातावरण बनाएर नीजिबन प्रवद्र्धन गर्न डिभिजन वन कार्यालयका साथै स्थानीय तह र प्रदेश सरकार संयुक्त ढंगले अगाडी बढ्न जरुरी रहेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीको भनाइ छ ।


परम्परागत खेती भन्दा रुख खेतीबाट कम मेहनतमा राम्रो आम्दानी हुने भन्दै यहाँका किसानहरु कृषि वनतर्फ आकर्षित भएका हुन् । खासगरी कृषि उत्पादन राम्रो नहुँने अग्लो जमिनमा लहरे पिपल र मसलाका काठ जन्य रुख रोप्न थालिएको हो । एक पटक विरुवा लगाएपछि धेरै समयसम्म खासै मेहेनत समेत गर्नु नपर्ने भएपछि साना किसान मात्र नभई व्यवसायीक रुपमा स्थापित व्यक्तिहरु समेत बनवाली तर्फ आर्कर्षित भएको नीजि तथा पारीवारीक बन संघ लुम्बिनी प्रदेशका अध्यक्ष बलराम भट्टराईले बताए ।
सरकारले पछिल्लो समय २३ प्रजातिका रुखहरु बिना झन्झट बिक्रि बितरण गर्न पाउने नीतिगत व्यवस्था बनाएपछि कृषकको आकर्षण अझ बढेको संघ लुम्बिनी प्रदेशका सचिब किरण ढकालले बताए । नीति बनेपनि स्थानीयतहहरु निर्देशिका नआएको भन्दै पन्छिने गरेका छन भने प्रहरीले समेत अनावश्यक दुःख दिने गरेको कृषकको गुनासो छ । सरकारले नीतिगत व्यवस्था गरीसकेपछि आफ्नो खेतमा लगाएका प्रतिबन्ध लाग्ने बाहेकका सवै प्रजातीका रुखहरु धान, गहुँ बिक्रि गरे सरह नै बेच्न पाउनुपर्ने प्रदेश सभा सदस्य आईपी खरेलले बताए ।
पछिल्लो समय बाँकेमा प्लाईउड उद्योग लगायत विभिन्न काठ उद्योग खुल्नेक्रम बढेका छन । जस्का कारण यस्ता काठहरुको माग अत्याधिक बढेकोले पनि नीजिबन प्रति कृषक आकर्षित भएका हुन ।