बर्दियाका स्वास्थ्य संस्थाद्वारा खानेपानी र सरसफाइको मापदण्ड औसत ३८ प्रतिशत मात्रै पूरा

गुलरिया : बर्दिया जिल्लाका स्वास्थ्य संस्थामा नै खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी मापदण्ड औसत रुपमा ३८ प्रतिशत मात्र पूरा गरेका छन् ।
स्वीजरल्याण्डको टी.डी.एच.फाउण्डेसनको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ (गेरुवा) बर्दियाको प्रयास परियोजनाले जिल्लाका ३३ वटा स्वास्थ्यमध्ये २५ वटामा गरेको अध्ययनले औसत ३८.५६ प्रतिशत मापदण्ड पूरा गरेको देखाएको हो ।
संघले आइतबार गुलरियामा आयोजना गरेको स्वास्थ्य सेवा प्रदायक संस्थामा खानेपानी सरसफाइ तथा स्वच्छता विषयमा सञ्चारकर्मीसँगको पैरवी कार्यक्रममा अनुसन्धानकर्ता हरि सुवेदीले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
विश्व स्वास्थ्य संगठन र युनिसेफले विभिन्न देशका स्वास्थ्य संस्थाहरुको खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी समग्र अवस्था अध्ययन गर्न तयार पारेको वास फिट विधिमा आधारित रहेर ५३ वटा सूचकबाट गरेको अध्ययनमा जिल्लाका कुनै पनि स्वास्थ्य संस्थाले मापदण्डको पूर्ण रुपमा पालना गर्न नसकेको अनुसन्धानकर्ता सुवेदीले प्रष्ट पारे । उनले भने, ‘सबैभन्दा धेरै मापदण्ड पालना राजापुर नगरपालिकाको बदालपुर स्वास्थ्य चौकीले ६२.२६ प्रतिशत मापदण्ड पूरा गरेको छ । सबैभन्दा कम बारबर्दिया नगरपालिकाको पदनाहा स्वास्थ्य चौकीले १७.६४ प्रतिशत मात्र पालना गरेको पाइयो ।’ जबकी ५० प्रतिशत मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्था पनि ४ वटा मात्र छन् ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले पनि जिल्लाका स्वास्थ्य संस्थाले सबै मापदण्ड पूरा गर्न नसकेको स्वीकार गरेका थिए । गेरुवा ग्रामीण जागरण संघका उपाध्यक्ष सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, बीबीसी संवाददाता विमला चौधरी, संघका पूर्वअध्यक्ष लक्ष्मण चौधरी र प्रयास परियोजना संयोजक गोपाल कँडेलले खानेपानी, सरसफाइ र स्वच्छताका विषयमा धारणा राखेका थिए ।