संसद विघटनपछि अन्तर्राष्ट्रिय चलखेल बढ्यो : नेता भट्टराई

प्रेस संगठन बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा नेता योगेश भट्टराई

नेपालगन्ज  :  नेकपा (प्रचण्ड–माधव समूह)का नेता योगेश भट्टराईले संसद विघटनपछि नेपालमा अन्तर्राष्ट्रिय चलखेल बढेको बताएका छन् ।
प्रेस संगठन बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले संसद विघटनले देशमा राजनीतिक अस्थिरता बढाएको पनि दाबी गरे । उनले भने, ‘प्रधानमन्त्रीको संसद विघटन घोर असंवैधानिक, अख्तियारको दुरुपयोग, दल विभाजन र अन्तर्राष्ट्रिय चलखेल बढाएको छ ।’
चिनियाँ र भारतीय नेताको नेपाल भ्रमणबारे भने उनले पार्टीका नेताहरुबीच भेटघाट भएपछि मात्र चलखेल अन्तर्गत भए नभएको बारे थाहा हुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसदबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी रहे पनि न्यायपालिकामाथि आशंका भइरहेको बेला प्रेस संगठन बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले राज्यको एक जिम्मेवार अङ्गले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्त अनुसार राज्यका अङ्गहरुको आ–आफ्नो भूमिका तोकिएको छ । न्यायपालिकाले कार्यपालिकाको छायाँ बन्नु हुँदैन । संविधान अनुसार काम गर्नुपर्छ ।’ संवैधानिक इजलासमा बरिष्ठ न्यायाधीशलाई नसमेटेर भइरहेको सुनुवाइबारे भने उनले कानुन व्यवसायीबाट विरोध भए पनि पार्र्टीको आधिकारिक धारणा फैसलापछि मात्र आउने प्रतिक्रिया दिए ।
नेकपाको नाम र चुनाव चिन्ह कस्को हुने भन्ने विषयमा नेता भट्टराईले निर्वाचन आयोगले पनि ऐन, नियम र संविधानको व्यवस्था अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए । संसद विघटनलाई भने उनले ठूलो ऐतिहासिक भुल र मुलुकका लागि दुर्घटना भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *