नेकपा नेता बस्नेतको फेसबुकमा कमेन्ट लेख्ने एक व्यक्ति नेपालगन्जबाट पक्राउ

नेपालगन्ज : नेकपा नेता महेश बस्नेतको फेसबुक स्टाटसमा कमेन्ट लेखेका एक व्यक्ति मंगलबार राति नेपालगन्जबाट पक्राउ परेका छन् ।
गोर्खाज फाइनान्स बैंकमा सेक्युरीटी गार्डमा कार्यरत नेपालगन्ज–१८ का डिल्लीबहादुर चन्दलाई फेसबुकमा कमेन्ट लेखेको भन्दै बाँके प्रहरीले पक्राउ गरेको हो । चन्दले करिब आठ महिना अघि नेकपा नेता महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनालको फेसबुक स्टाटसमा आक्रोस पोख्दै कमेन्ट गरेको र सोही कमेन्टकै आधारमा चन्द पक्राउ परेको बताइएको छ ।

लकडाउनको समयमा वैशाख १० गते राति पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपापूर्व सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले समाजवादी पार्टी फुटाउने योजनामा पूर्वसांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट रातारात काठमाडौं ल्याएका थिए । नेता यादवलाई लकडाउनकाबीच अपहरण शैलीमा ल्याएको भन्दै निकै आलोचना भएको थियो । सोही सन्दर्भलाई जोड्दै चन्दले नेता बस्नेतको फेसबुक स्टाटसमा कमेन्ट गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ । नेकपाका नेता महेश बस्नेत बाँकेमा आएकै दिन उनकै दवावमा पक्राउ गरिएको परिवारको दाबी छ । सेक्युरीटी गार्डमा कार्यरत चन्दलाई ड्युटीमा रहेकै अवस्थामा मंंगलबार राति पक्राउ पुर्जी बिना नै अपहरण शैलीमा पक्राउ गरी काठमाडौं लगिएको उनका आफन्तको आरोप छ । देशमा राजनीतिक स्थिरता उथुलपुथुल भइरहेको समयमा सामान्य मान्छेलाई पक्राउ गरी जघन्य अपराध गरे झैं रातारात काठमाडौं लगिएको उनकी पत्नी कमला चन्दले बताइन् ।
सेक्युरीटी गार्ड चन्द पक्राउ परेको विषयमा बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले साइबर क्राइम अन्तर्गत जिल्लामा कुनै थाहा नहुने र अनुसन्धान गर्न नमिल्ने भएकोले माथिको आदेश अनुसार काठमाडौं पठाइएको बताए । चन्दलाई केही समय अघि गल्ती स्वीकार गरेको निवेदन दिन लगाएर फेसबुक कमेन्ट डिलिट गर्न लगाए पनि नेता बस्नेतको निर्देशनमा रातारात काठमाडौं झिकाइएको पारिवारिक स्रोतको दाबी छ । उनी नेपाली कांग्रेस बाँकेका सदस्य रहेको बताइएको छ ।