विदेशबाट फर्किएपछिको रोजगार गन्तब्य कृषि
लक्ष्मण ढुंगाना । नेपालगन्ज
पछिल्लो समय युवाहरुमा बैदेशीक रोजगारप्रतीको मोह बढदै गएको छ । विदेश जाने मध्ये धेरै जनाले अनावश्यक सास्ती झेल्नु परेको छ । पैसा कमाएर फर्किएकाहरुले पनि पारिवारीक सन्तुष्टि र दिर्घकालिन स्वरोजगारको आधार भने पाउन सकेका छैनन । विदेशमा कमाएको पैसा र सीप उपयुक्त ठाउँमा लगानी गर्न नसक्दा फेरी बेकामे भई बस्नु परेको अवस्थामा केही युवाहरुले भने स्वदेशमा लगानी गरी राम्रो आम्दानी गरीरहेका छन । यस्तै मध्येका एक हुन् डुडुवा गाउँपालिका–५ बाँकेका बीरेन्द्र खड्का ।
बैदेशिक रोजगारीको शिलशिलामा ५ बर्षसम्म बहराईनमा बसेर फर्केका खड्काले विदेशमा पाएको दुखः सम्झेर घर नजिकै व्यवसायीक भैसी फार्म संचालन गरेका छन । २ वटा भैसीवाट सुरु गरेको उनको जयमाधुरी कृषि फार्म प्रालिमा हाल साना ठुला गरी २० वटा गाई भैसी रहेका छन । विदेशमा पाएको दुखः सम्झीँदा अहिले गरेको काममा निकै सन्तुष्टी मिलेको खड्का बताउँछन । ‘विदेश बस्दा धेरै दुखः पाए, परिवारको चिन्ता अर्कोतीर थियो’ उनले भने ‘अहिले म निकै खुसी छु । दुईजनालाई आफ्नो फार्ममा रोजगारी दिन सकेको छु ।’ घरमै फार्म खोलेर मासीक एक लाख सम्मको दुध विक्रि गर्दै आएको छु, यो भन्दा ठुलो सन्तुष्टि के होला ? उनले प्रतिप्रश्न गरे । हाल उनी विदेश जान चाहने युवालाई स्वदेशमै काम गर्न सुझाउछन ।
बाह्र वर्षअघि गुलरिया नगरपालिका–४, सोहेलुवाका युवा टोपलाल विकले रोजगारको गन्तब्य खोज्दैजाँदा दुई वटा क्षेत्रमा मात्रै आफ्नो भविष्य देखे । वैदेशिक रोजगार र व्यावसायिक कृषिलाई उनले आफ्नो भविष्यको सपना कोर्ने आधारका रुपमा लिए । कुनलाई प्राथमिकतामा राख्ने भन्नेमा उनी केही समय अलमलमा परे । लगानी र आइडिया नहुँदा कृषि क्षेत्रमा हात हाल्न उनले आँट गर्न सकेनन् । अन्ततः सिभिल ईन्जिनियरिङ पढेका उनको पहिलो रोजाइमा वैदेशिक रोजगार प¥यो । तीन वर्षसम्म कतारमा काम गरे । काम गर्दासम्म करिब १८ लाख रुपैयाँ त कमाए, तर उनी सन्तुष्टि हुन सकेनन । विदेशमा काम गर्दै गर्दा उनलाई ३ वर्षपछिको जीविकोपार्जनको आधार के भन्ने प्रश्नले चिन्तित तुल्यायो । विदेशबाट फर्के लगत्तै उनी दीर्घकालीन रूपमा स्वरोजगार बन्ने विकल्प खोज्नतिर लागे । अनि बल्ल उनले भविष्यको सपना कोर्ने आधारका रूपमा देखेको दोस्रो विकल्प कृषि पेसा सुरु गर्ने सोच बनाए ।
उनले घरनजिकैको जग्गामा टिस्युकल्चर प्रविधिबाट केराका बेर्ना उत्पादन गर्न सुरु गरे । उनले उत्पादन गरेका केरा र बेर्ना विक्रि गरेर बार्षिक ६० लाख रुपैयाको कारोवार गरी २० लाख रुपैया खुद मुनाफा हुने गरेको बताउछन । थोरै मेहेनत गर्ने हो भने स्वदेशमै सम्भव भएको बताउँदै निरन्तरको लगनशीलता जरुरी रहेको उनको भनाई छ ।
उनी जस्तै स्वदेशमा भविष्य छैन भनेर ५ बर्ष सम्म कोरिया बसेर फर्केका बर्दियाको राजापुर ८ ईश्वरीगन्जका कमल ओलीले बाँकेको गनापुरमा व्यवसायीक रुपमा कडकनाथ जातको कुखुराका साथै एकीकृत कृषि फार्म संचालन गरेका छन । विदेशमा बस्दा सिकेको सिप र अनुभवलाई स्वदेशमै लगानी गरी उनले त्यहाँ भन्दा राम्रो आम्दानी गरीरहेका हुन । विदेशवाट फर्केको १५ दिनमै व्यवसाय सुरु गरेका ओलीले हाल ७ जनालाई रोजगारी दिनुका साथै कोरीयाको जस्तै मासिक तीनलाख सम्म आम्दानी गरीरहेको बताए ।
कोरीया बस्दा श्रमलाई ईज्जतगर्न सीकेको बताउने उनले त्यहाँगर्ने दुखःको ५० प्रतिशतमात्रै मिहिनेत स्वदेशमा गरे राम्रो आम्दानीगर्न सकिने ठानेर व्यवसाय शुरु गरेको बताए । ‘विदेशमा धेरै दुखः पाईन्छ, अरको गाली खानुपर्छ’ उनले भने ‘त्यहाँ गर्ने मेहेनतको आधामात्रै परिश्रम यहाँ गर्ने हो भने यही सम्भावना छ ।’ हाल उनले उत्पादन गरेका कडकनाथ जातका कुखुराको चल्लाको अत्याधिक माग बढेपछि आपुर्ति गर्न भ्याई नभ्याई छ । उत्पादीत कडकनाथ र स्थानीय कुखुराको खपतका लागि गनापुरमै बेलीफुल रेस्टुरेन्ट समेत संचालनमा ल्याएका छन ।
पछिल्लो समय विदेशमा बसेर फर्केका युवाहरुले स्वदेशमा लगानी गरी लोभलाग्दो आम्दानी र स्थानीयस्तरमा रोजगारी समेत सिर्जना गरेका छन । सरकारले यस्ता युवाहरुलाई लक्षित गरी सहुलियत कर्जा र अनुदानका कार्यक्रम ल्याएको जनाएको छ । तर यी युवाले हालसम्म धेरै ठाउँ धाउँदा पनि कर्जा पाउन नसकेको गुनासो गरेका छन । व्यवसाय संचालन गरेको यी युवाले सरकारले आफुहरु जस्ता युवालाई सहुलियत ऋण दिने जनाएपनि पहुँचवालाले मात्र त्यस्तो ऋण पाउने गरेको गुनासो गरे ।