हुस्सुकुहिरोले नेपालगन्जमा २० मिटर भिजिविलिटी, बुद्ध, यति र श्रीका ६ विमानको उडान ‘क्यान्सिल’

नेपालगन्जमा विमान उडानको प्रतिक्षामा रहेका यात्रीहरु । फोटो : भावुक योगीको फेसबुकबाट

नेपालगन्ज :  बाक्लो हुस्सुकुहिरो कारण बुधबार बिहानको नेपालगन्ज–काठमाडौंका ३ र काठमाडौं–नेपालगन्जका ३ गरी ६ विमानले उडान ‘क्यान्सिल’ गरेका छन् ।
नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार खराब मौसमका अनुसार बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले उडान क्यान्सिल गरेका हुन् । श्री एयरलाइन्सको ९ः१५, यति एयरलाइन्सको बिहान ९ः३५ र बुद्धको १०ः२५ को उडान क्यान्सिल भएको हो । यी तीन वटै विमान कम्पनीको काठमाडौंबाट नेपालगन्जका लागि बिहानको उडान पनि क्यान्सिल गरिएको छ । श्री र यतिको बिहान ८ः१५ र बुद्धको ८ः४५ मा काठमाडौं–नेपालगन्ज उडानको तालिका थियो ।


मौसमा सुधार नआएका कारण यी उडान पनि प्रभावित हुनेछन् । नेपालगन्ज विमानस्थलबाट बिहानमा मात्र कम्तीमा एक दर्जन विमानले उडान भर्छन् । पहाडी र हिमाली जिल्लाको उडान पनि प्रभावित भएको छ । नेपालगन्ज विमानस्थलमा यात्रीहरु भने अलपत्र परेका छन् ।
जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकका अनुसार बुधबार नेपालगन्जमा यो वर्षकै सबैभन्दा कम २० मिटरको भिजिविलिटी थियो । १०० विमान उड्नका लागि कम्तीमा पनि १६०० भिजिविलिटी चाहिन्छ । नेपालगन्जमा न्यूनतम् तापक्रम भने ८ डिग्री सेल्सियस रहेको विकले बताए ।